कोरोना नियन्त्रणमा खट्न कार्यकर्तालाई निर्देशन

  बैशाख १३, २०७८

काठमाडौँ, वैशाख १३ : प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) महामारीको सङ्क्रमण निरन्तर बढेकाले पार्टीका सबै तहका सङ्गठनलाई कोरोना नियन्त्रण र रोकथामका कार्यमा खट्न निर्देशन दिनुभएको छ ।

नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको आइतबार आयोजित आकस्मिक बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाले फेरि महामारीको रूप लिन थालेको भन्दै नागरिकलाई जोगाउन सरकारले आवश्यक काम गरिरहेको बताउनुभएको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार अध्यक्ष ओलीले कोरोना महामारीविरुद्ध एकढिक्का भएर लड्न पार्टी पङ्क्तिलाई निर्देशन दिनुभएको छ । “कोरोना रोकथाम गर्न सरकारले गरिरहेको प्रयासबारे जानकारी दिई पार्टी पङ्क्तिलाई परिचालित हुन निर्देशन दिनुभएको छ”, प्रवक्ता ज्ञवाली भन्नुभयो ।

प्रधानमन्त्री ओलीले स्थानीय सरकारी संयन्त्रसँग सहकार्य गर्दै कोरोना रोकथाम र नियन्त्रणका कार्यमा एकजुट भएर खट्न पार्टी पङ्क्तिलाई निर्देशन दिनुभयो । प्रवक्ता ज्ञवालीले सरकारले तत्काल देशव्यापी बन्दाबन्दी नगर्ने बताउनुभएको छ । बैठकका बारेमा जानकारी दिन पार्टी प्रवक्ता ज्ञवालीले तत्काल देशभरि बन्दाबन्दी नगर्ने जानकारी दिनुभयो ।

उहाँले बन्दाबन्दीले कोरोना सङ्क्रमणको जालो तोड्ने भए पनि त्यो दीर्घकालीन समस्या समाधान गराउने विषय नभएको बताउँदै भर्खरै तङ्ग्रिन लागेको अर्थतन्त्रलाई बन्दाबन्दीले असर पार्ने बताउनुभयो । उहाँले हटस्पटहरूमा ठाउँ हेरेर बन्दाबन्दी हुनसक्ने तर राष्ट्रियस्तरमै बन्दाबन्दी तत्काल नहुने स्पष्ट पार्नुभयो ।

एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा अविश्वासको प्रस्ताव र फ्लोर क्रसबारे छलफल भएको छ । परराष्ट्रमन्त्रीसमेत रहनुभएका पार्टी प्रवक्ता ज्ञवालीले विपक्षी दलबाट दर्ता अविश्वासको प्रस्ताव र आफ्नै दलबाट हुन सक्ने फ्लोर क्रसबारे बैठकमा छलफल भएको जानकारी दिनुभयो ।

उहाँले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कोसिस भइरहेको र कर्णालीको जस्तै फ्लोर क्रस गराउने प्रयास भइरहेको भन्दै बैठकले फ्लोर क्रसका बारेमा छलफल गरेर प्रस्ताव तयार गर्न स्थायी कमिटीलाई जिम्मेवारी दिएको जानकारी दिनुभयो । उहाँले अहिले अविश्वासको प्रस्ताव ल्याउने कोसिस भइरहेको र फ्लोर क्रसलगायतका विषयमा आवश्यक निर्णय पछाडि उपयुक्त समयमा गरिने स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया