उपत्यकामा एक हजार ४९८ सहित तीन हजार ३२ कोरोना संक्रमित थपिए

  बैशाख १२, २०७८

काठमाडौं, वैशाख १२ : नेपालमा कोरोनाभाइरसका तीन हजार ३२ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । पछिल्लो २४ घण्टामा नौ हजार २९२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ३२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ११९ जना सङ्क्रमित भएको जनाइएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकाको तीन जिल्लामा पछिल्लो २४ घण्टामा एक हजार ४९८ जनामा सङ्क्रमणको पुष्टि भएको बताउनुभयो । उहाँका अनुसार काठमाडौंमा सबैभन्दा बढी एक हजार १३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा ७८६ जनाको एन्टीजेन परीक्षण गरिएको जनाएको छ । जसमध्ये ९० जनामा सङ्क्रमण पोजिटिभ पाइएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५० जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

हालसम्म कोभिडमुक्त हुने दुई लाख ७७ हजार ५७३ पुगेको छ । मन्त्रालयले हाल १९ हजार ३८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । ६९ जना हाल क्वारेन्टिनमा छन् । एक हजार ५९४ जना संस्थागत् आइसोलेशनमा र १७ हजार ७८८ जना होम आइसोलेशनमा छन् ।

तपाईको प्रतिक्रिया