विदेशमा नेपाली संक्रमित बढ्दै, ५४ मुलुकमा ६८ हजार संक्रमित, एक हप्तामा २३ मृत्यु

  बैशाख १२, २०७८

काठमाडौं, बैशाख १२ : कोरोना संक्रमणका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या अझै रोकिन सकेको छैन् । यसै बीच यो साता भारतमा २० सहित विदेशमा २३ जनाको नेपालीको ज्यान गुमाएका छन् ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार भारत लगायतका विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता भारतमा २० जना, कुवेतमा २ जना र कतारमा १ जना नेपालीको कोरोनाका कारण निधन भएको हो ।

भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्य समेत रहेका अल इन्डिया इन्टिच्यूट अफ मेडिकल साइन्समा कार्यरत डा. सागर पौडेलका अनुसार भारतको नयाँ दिल्लीमा १० जना र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० जना नेपालीको निधन भएको हो ।

निधन हुनेमा अधिकांश ५० वर्ष भन्दा मुनिका रहेका छन् । योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा संक्रमणका कारण ३ सय ७२ जना नेपालीको निधन भएको छ । हालसम्म मृत्यु भएकामध्ये दुई सय पैतालिस जना मध्यपूर्वका रहेका छन् ।

हाल सम्म ५४ मुलुकमा साढे ६८ हजार नेपाली संक्रमित

अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड १९ का कारण संक्रमित हुने नेपालीको संख्या ६८ हजार ५ सय ६ जना पुगेको छ ।कुल संक्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात ६४ हजार ७ सय ४४ जना संक्रमणमुक्त भएका छन् । यो साता भारत, कुवेत, कतार, युएई, रोमनीया, रुस, फिनल्याण्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्याण्ड रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण एनआरएनएले जानकारी दिएको छ ।

यसैबीच नेपालमा हालसम्म २ लाख ९७ हजार ८७ जना संक्रमित पुगेकोमा ९३ दशमलव ३ प्रतिशत अर्थात २ लाख ७७ हजार १ सय २३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण शनिबार सांँझसम्म ३ हजार १ सय ३६ जनाको निधन भएको छ । पछिल्लो एक वर्षमा सबैभन्दा बढी मे महिनामा ६८ जना, सेप्टेम्बरमा ६५ जना, अगष्टमा ३६ जना नेपालीको निधन भएको थियो । यो वर्ष सुरु भएपछि भने यही अप्रील महिनामा २३ जना नेपालीको निधन भएको स्वास्थ्य समितिले जनाएको छ ।

गतवर्षको जुन, जुलाई, डिसेम्बर र यो वर्षको जनवरी महिनामा सबैभन्दा धेरै नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका थिए । यसैबीच, गत सोमबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य समितिका संयोजक डा संन्जिव सापकोटाले महामारीका दौरान दुई सय पचास जना डाक्टर र नर्सहरु परिचालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार, नेपाल बाहिर करिब पाँच हजार डाक्टर र पन्ध्र हजारको हाराहारीमा नर्सहरु रहेका छन् । ती सबै स्वास्थ्यकर्मीहरुलाई एनआरएनमा जोड्न प्रयास भइरहेको उहाँले बताउनुभयो ।

टेलिहेल्थ सेवा प्रयोगका लागि आग्रह

एनआरएनएले सुरु गरेको टेलिहेल्थ सेवाले स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या भए फोनबाट परामर्श लिन सकिने जनाएको छ । यसको साथै इमेल पठाएर परामर्श लिन सकिने एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ । स्वास्थ्य समितिले दुई ओटा विश्व स्वास्थ्य सम्मेलन आयोजना गरि सकेको र तेश्रो विश्व स्वास्थ्य सम्मेलन सन् २०२१ को सेप्टेम्बर १७ देखि १९ मा लन्डनमा आयोजना गरिने पनि समितिले जनाएको छ ।

डा. सापकोटाले संघले ‘कम्प्रिहेन्सिभ ग्लोबल टेलिहेल्थ प्रोग्राम’ शुरु गरेर कोभिड १९ बाट जोगिन र संक्रमित भएको भए कसरी स्वास्थ्य सेवा प्राप्त गर्ने भन्ने बारेमा नेपाली भाषामा नै निर्देशिका प्रकाशन गरेको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा संघका महासचिव डा. हेमराज शर्माले महामारीकै बीच पनि ५० देशका तीन सय शहरमा २५ सय स्वयंसेवक परिचालन गरी सेवा प्रदान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार एनआरएनमार्फत एक लाख सत्तरी हजारलाई प्रत्यक्ष रुपमा सेवा प्रदान गरिएको थियो ।

त्यस्तै, संघका संरक्षक एवंम पूर्व अध्यक्ष जीवा लामिछानेले विगतका अन्य विपद्मा जस्तै कोभिड महामारीका बेला पनि एनआरएनले नेपालीलाई सघाएको बताउनुभयो । उहाँले संसारभर छरिएका स्वास्थ्यकर्मीले सामूहिक रुपमा सीमित श्रोत साधनबाट काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

मानसिक स्वास्थ्य समस्यामा वृद्धि

कोभिड महामारीसँगै विश्वभर छरिएका नेपालीहरुमा मानसिक स्वास्थ्य समस्याहरू देखिएको चिकित्सकहरुले बताएका छन् । समिति संयोजक डा. सापकोटासहित पत्रकार सम्मेलनमा विभिन्न देशबाट भर्चुएल माध्यमबाट सहभागी चिकित्सकहरुले मानसिक रोगको अवस्था चिन्ताजनक रुपमा देखिएको बताए । महामारीका कारण व्यापार व्यवसाय बन्द हुने, संक्रमित हुने तथा परिवारमै मृत्यु हुने, रोजगारी गुम्ने लगायतका समस्याले मानसिक समस्या बढ्दै गएको उनीहरूले बताए । मानसिक समस्या समाधानका लागि स्वास्थ्य समितिले तालिम सञ्चालन गरेको समितिका संयोजक सापकोटाले जानकारी दिनुभयो ।

त्यस्तै, आत्महत्या रोकथामका लागि पनि कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।स्वास्थ्य समितिमा नेपाल तथा विश्वका विभिन्न मुलुकहरुमा कार्यरत नेपाली चिकित्सकहरु सहभागी छन् । विदेशमा रहेका नेपालीहरुको अवस्थाको तथ्यांक संकलनमा यूरोप संयोजक डा. बोधराज सुवेदी, यूकेबाट डा. दिलिप यादव, कतारबाट डा.नितेश अर्याल, दक्षिण अफ्रिकाबाट डा. सरिता भट्टराई र स्पेनबाट नर्स सांग्रिला लामा, लगायतको टोलीले तथ्यांक संकलन गर्न सहयोग गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया