चिकित्सकसहित नाैँ जनामा कोरोना सङ्क्रमण देखिएपछि खजुरा क्यान्सर अस्पतालका सबै सेवा बन्द

  बैशाख १२, २०७८

नेपालगञ्ज, वैशाख १२ : एक जना विशेषज्ञ चिकित्सकसहित नाैँ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका सबै सेवा बन्द गरिएको छ ।

क्यान्सर अस्पतालका निर्देशक डा. कृष्ण आचार्यका अनुसार कोरोनाको बढ्दो जोखिमलाई मध्यनजर राखेर आइतबारदेखि शुक्रबारसम्मका लागि अस्पतालका सबै सेवा बन्द गरिएको हो । उहाँले सो अस्पतालका चिकित्सकसहित १० जनाको कोरोना परीक्षण गर्दा ९ जनामा सङ्क्रमण देखिएकोले अस्पताललाई सिल गरिएको बताउनुभयो ।

सङ्क्रमण पुष्टि भएका ९ जना मध्ये एक जना विशेषज्ञ चिकित्सक, ५ जना स्टाफ नर्स, एक जना ल्याब प्राविधिक र दुई जना कर्मचारी रहेको अस्पतालले जनाएको छ । सङ्क्रमित भएका मध्ये ६ जना अस्पतालकै आइसोलेसनमा रहेका छन् भने ३ जना होम आइसोलेसनमा रहेका छन् । उहाँहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक आचार्यले बताउनुभयो ।

यसैगरी बाँकेको राप्तीसोनारी गाउँपालिकाका १७ जना कर्मचारीलाई सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाको कार्यालयलाई पनि सिल गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष लाहुराम थारुलाई सङ्क्रमण भएपछि अन्यको परीक्षण गर्दा थप १७ जना सबै कर्मचारी सङ्क्रमित भेटिएका थिए । सोही प्रकारले नेपालगञ्जस्थित जनक शिक्षा सामाग्रीका केही कर्मचारीमा पनि सङ्क्रमण देखिएपछि सो कार्यालय पनि बन्द गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया