संक्रमणको जोखिम बढ्दै, दिनदिनै बिरामी थपिदै, अस्पताल भरिभराउ

  बैशाख १०, २०७८

बुटवल, वैशाख १० : पहिलो चरणको कोरोना संक्रमण झण्डै झण्डै शुन्यमा झर्न लागेको लुम्बिनी प्रदेशमा अहिले फेरि संक्रमणले उच्च रुप लिइरहेको छ ।

पहिले उच्च सतर्कता र सावधानीका कारण जोखिम शुन्यमा झर्न लागेको थियो । तर पछिल्ला दिनहरुमा सिमाबर्ती भारतका बिभिन्न स्थानहरु भयावह अवस्था आएसंगै यो प्रदेशमा पनि जोखिम ह्वात्तै बढेको हो ।

सबैभन्दा बढि जोखिम सिमावर्ती जिल्ला बाँके,रुपन्देही र कपिलबस्तुमा देखिएको छ । बाँके र रुपन्देहीका अस्पतालहरु खचाखच भरिएका छन् । कयौं अस्पतालहरुमा ठूलो संख्यामा संक्रमितहरु बेड र उपचारको प्रतीक्षामा छन् ।

फेरि जोखिम बढेसँगै प्रदेश सरकार अस्पतालहरुको क्षमता र उपचारको दायरा बढाउने अभियानमा छ । यसअघि कोरोनाको जोखिम कम भएको ठान्दै प्रदेशका कयौं स्थानीय तहहरूमा क्यारेन्टाईन र आइसोलेशन हटाईएका थिए । ती मध्ये केही स्थानीय तहले त्यस्ता क्यारेन्टाईन र आइसोलेशनलाई पुनस्र्थाना गर्न जोड दिन थालेका छन् ।

लकडाउनले नेपालगञ्ज सुनसान
नेपालगञ्ज समाचारदाताका अनुसार तीव्र गतिमा बढ्दै गएको कोरोना संक्रमणलाई रोक्नका लागि नेपालगञ्जमा सातदिनको लकडाउन घोषणा गरिएपछि नेपालगञ्जमा भीडभाड र चहलपहल रोकिएको छ । लकडाउनले गर्दा विहीबार र शुक्रवार नेपालगञ्ज बजार सुनसान देखिएपछि कोरोनाको त्रास तोडिने आशा बढेको स्थानीयले बताएका छन् ।

बाँकेमा दैनिक ३०० भन्दा बढी संक्रमित भेटिन थालेपछि सो रोक्नका लागि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले बुधवार राती १२ बजेदेखि सात दिने लकडाउन घोषणा गर्नु भएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका भित्रमा एकहप्ते ‘लकडाउन’ को घोषणा गरिएपछि गत दुईदिनदेखि नगरका अधिकांश स्थान सुनसान देखिएका छन् । लकडाउनका कारण नगरका अधिकांश पसल व्यवसाय, सवारी साधन र कार्यालयहरु समेत बन्द रहेका छन् ।

नेपालगञ्जको गणेशमान चोक, बिपि चोक, त्रिभुवन चोक, त्रिवेणी मोड, न्यु रोड, सेतु बिक चोक, बसपार्क लाइन, पुष्पलाल चोक, धम्बोझी चोकहरुका पसल व्यवसाय दुईदिनदेखि पुर्ण रुपमा बन्द रहेका छन । बजारमा केही साइकल, अटोरिक्सा, मोटरसाइकल तथा पैदल यात्रुहरु अत्यावश्यक काममा हिडेको मात्र देखिन्छन् ।

लकडाउनलाई सफल पार्न स्थानीय प्रशासनले चोकचोकमा ठुलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरेको छ । लकडाउन उल्लंघन गर्नेलाई संक्रामक ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही हुने प्रशासनको सुचनामा चेतावनी दिईएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालसहित बाँके प्रहरी प्रमुख ओमबहादुर राना, सशस्त्र प्रहरी वल बागेश्वरी गणका गणपति अशोक बम, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक नरेन्द्रराज गिरी लगायतका सुरक्षा प्रमुखहरुले लकडाउनको निरन्तर अनुगमन गरिरहनु भएको पाईएको छ ।

यसैविच लामो दुरीका सवारी साधन, विमानस्थल, अस्पताल, औषधी पसलहरु खुल्लै रहेका छन् भने हरेक दिन विहान ६ बजेदेखि ९ बजेसम्म तरकारी, खाद्यान्न र ग्याँस लगायतका पसलहरु खोल्ने छुट दिईएको छ ।

दैनिक तीन सय नयाँ संक्रमित
कोरोना हटस्पट बनेको बाँकेमा दैनिक तीन सय भन्दा बढी नयाँ संक्रमित थपिन थालेपछि अहिले भेरी अस्पताल र मेडिकल कलेजमा रहेका सबै बेड भरिएका छन् ।

भेरी अस्पतालमा रहेको १४२ बेडको कोभिड वार्ड र मेडिकल कलेजको ६५ बेडको कोभिड वार्ड दुबै दुईदिन अघिनै भरिएपछि दर्जनौ थप विरामी संक्रमितले उपचारका लागि पालो कुरिरहेका छन् ।

तीमध्ये कतिपय विरामीहरु निकै गम्भीर रहेको र उनीहरुलाई तत्काल आईसियु र अक्सिजन चाहिएकोले उपचार नपाएर उनीहरुको अवस्था बेहाल भएको अस्पतालले नै जनाएका छन् ।

भेरी अस्पतालले कोरोना संक्रमित बिरामीहरुलाई भनेर छुट्टाएर राखेका सबै १४२ बेड भरिभराउ भएको र अहिले पनि गम्भीर प्रकृतिका बिरामी आउने क्रम नरोकिएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताउनुभयो । उहाँले कतिपय गम्भीर र अन्य सामान्य विरामीले बेडका लागि निरन्तर हारगुहार गरिरहेपनि आफुले छैन बाहेक केही भन्न नसकेको बताउनुभयो ।

उहाँले जिल्लामा दैनिक ३०० भन्दा बढीको संख्यामा संक्रमित थपिने क्रम जारी रहेकोले तत्काल डेढसय जति बेड र त्यसका लागि जनशक्तिको व्यवस्था गर्न नसकिए पालो पर्खंदै अस्पताल बाहिरनै धेरै जनाले ज्यान गुमाउने बताउनुभयो । स्थानीय, प्रदेश र केन्द्र सरकारसँग तत्काल सो बारेमा ध्यान दिन अस्पताल प्रमुख डा. थापाले आग्रह गरेको बताउनुभयो ।

नेपालगञ्ज मेडिकल कलेजमा पनि कोभिडका लागि छुट्टयाईएका ६५ बेड सबै दुईदिन पहिलेनै भरिएकाले धेरै गम्भीर विरामीहरु अस्पतालको बरामदामा पालो कुरिरहेको सो अस्पतालका वरिष्ठ चिकित्सक डा. आसिम किदवाईले बताउनुभयो ।

बाँकेका कोरोना फोकलपर्सन तेज ओलीले निरन्तर संक्रमित संख्या बढिरहेकोले तत्काल अस्पतालमा बेड थप्ने र अक्सिजनको व्यवस्थापनमा सबैको ध्यान र सहयोग केन्द्रित हुनु जरुरी रहेको बताउनुभयो । बाँकेमा संक्रमण दर निरन्तर उकालो लाग्दै गएपछि यसको नियन्त्रण र रोकथाममा ठुलो चुनौति थपिएको छ ।

भेरी अस्पतालका फिजिसियन डा. खगेन्द्रजंग शाहले अहिलेको अवस्था पहिलेको जस्तो नरहेको जनाउँदै अहिले अधिकांश संक्रमितलाई अक्सिजन चाहिने देखिएकोले अवस्था गम्भीर रहेको बताउनु भएको छ ।

संक्रमितको संख्या बढेसंगै मृत्यु हुनेहरुको संख्या पनि दिनदिनै बढ्दै गएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । सो केन्द्रका अनुसार अहिले बाँकेमा दैनिक तीनदेखि चारजनासम्म संक्रमितको मृत्यु भैरहेको छ ।

नाकाबाट नेपाल फर्किनेको लर्को
भैरहवा समाचारदाताका अनुसार भारतका बिभिन्न स्थानमा नयाँ भेरिएन्टको कोभिडको महामारी बढ्दै जाँदा सीमामा नेपाल आउनेहरुको लर्को लाग्ने गरेको छ ।

भारतको दिल्ली, मुम्बई, दक्षिण भारत मात्र हैन उत्तर प्रदेशकै कतिपय स्थानमा अहिले कोभिडको संक्रमण तीव्र रुपमा फैलिरहेको छ । भारतमा कोभिड संक्रमण फैलिदै जाँदा नेपालीहरु नेपाल फर्किने गरेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलहियाका अनुसार लामो दूरीबाट दैनिक सरदर २५० जना नेपाल फिर्ता भइरहेका छन् । बैशाख महिनाको ९ गते सम्म बेलहिया नाका हुँदै ९५५ जना महिला र दुई हजार २६४ जना पुरुष गरी तीन हजार २१९ जना नेपालीहरु नेपाल प्रवेश गरेका छन् ।

यी भारतको लामो दूरीबाट आउने नेपालीको मात्र तथ्याङ्क हो । यसबाहेक नेपालबाट नै बिभिन्न प्रयोजनको लागि भारतको नजिकको बजारमा जानेहरुको तथ्याङ्क राख्ने गरिएको छैन ।

भारतको नजिकको बजारमा गई किनमेल गरी फर्किने सहज रुपमा नेपाल प्रवेश पाउने गरेका छन् । भारतबाट आउने नेपाली तथा अन्य यात्रुलाई सहज प्रवेश दिइएपछि रुपन्देहीमा कोभिडको अवस्था झन भन्दा झन जटिल हँुदै गएको छ ।

रुपन्देही प्रशासनले सीमामा सतर्कता अपनाएको दावी गरिरहँदा रुपन्देहीमा कोभिड संक्रमितको संख्या बढ्दो रहेको छ । गत सोमबार मात्र भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा छ जना संक्रमितको मृत्यु भएको थियो । मृतकमध्ये तीन जना रुपन्देहीका र तीन जना अन्य जिल्लाका रहेका थिए । रुपन्देहीमा बैशाख ९ गते सम्म १६३ जनाको मृत्यु भइसकेको छ ।

टाढाबाट आउने नेपालीलाई होल्डिङ्ग सेन्टरमा राखी उनीहरुको तापमान लिएर शंकास्पद देखिए एन्टिजेन परीक्षण गर्ने गरिएको छ । अहिलेसम्म शंकास्पद ११६ जनाको एन्टिजेन परीक्षणबाट आठ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

खतरा सीमापारीबाट आउनेबाट मात्र हैन सीमा भित्र पनि मानिसको आवात जावत अनियन्त्रित हुदा रुपन्देहीमा संक्रमण फैलिदै गइरहेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले रुपन्देहीका सक्रिय संक्रमितको संख्या बिगत एक सातादेखि बढ्दै गएको बताउनुभयो ।

यता जिल्लास्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) का संयोजक समेत रहनुभएका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले कोभिडबाट जोगिन रुपन्देहीले तीनवटा रणनीति तयार पारेको बताउनुभयो ।

पहिलो परीक्षण, दोस्रो व्यवस्थापन र तेस्रो उपचार गरी तीनवटा मुख्य रणनीति अनुसार सीमा नाका ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण गरी दुईवटा कार्यनीति रहेको उहाँले बताउनुभयो । मुख्य चुनौती भनेकै सीमा ब्यवस्थापन रहेको उहाँले बताउनुभयो ।

टाढाबाट आउने नेपालीलाई त्यहाँ आराम गर्न दिने र तापमान लिएपछि शंकास्पदलाई एन्टिजेन परीक्षण गर्ने गरिएको तामाङ्गले बताउनुभयो । उहाँले अहिले सीमामै दुई बेडको आईसोलेसन सेन्टर तयार भएको बताउनुभयो ।

प्युठानमा थप एकको मृत्यु
प्युठान समाचारदाताका अनुसार उपचारको क्रममा प्यूठान अस्पताल विजुवारमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मल्लरानी गाउँपालिका–निवासी ८३ वर्षीया महिलाको मृत्यु भएको प्यूठान अस्पतालले जनाएको छ ।

ज्वरो र श्वासप्रश्वास सम्वन्धी समस्या भएपछि उनलाई शुक्रबार विहान अस्पताल लगिएको थियो । करिव १२ बजेतिर उनको मृत्यु भएको अस्पतालका डाक्टर नविन दर्नालले जानकारी दिनुभयो । परिवारसँगको सल्लाह अनुसार मृतकको शव नेपाली सेनामार्फत अन्त्येष्टी गर्ने तयारी भइरहेको छ ।

घटनाबारे जिल्ला स्वास्थ्य कार्यालय, निर्देशनालय, प्रमुख जिल्ला अधिकारी सवैलाई जानकारी गराइएको डाक्टर दर्नालले बताउनुभयो । डाक्टर दर्नालका अनुसार उनको एन्टिजेन टेष्ट गर्दा पोजेटिभ देखिएको थियो ।

नगरपालिकामा कामकाज बन्द
बर्दिया समाचारदाताका अनुसार बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाका नगरप्रमुख तथ प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको छ । नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कोराना संक्रमण देखिएपछि ६ दिन सम्मका लागि पालिका अन्र्तरगतका कार्यलयहरुमा सबै कामकाज बन्द गरिएको छ ।

बारबर्दिया नगरपालिका क्षेत्रमा कोरोना ब्यापक रुपमा फैलिन थालेको भन्दै पालिकाले सुचना जारी बैशाख १० गते देखि १५ गतेसम्मका लागि सम्पूर्ण कामकाज बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले जानकारी दिनुभयो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार बारबर्दिया नगरपालिका क्षेत्रभित्र सम्पूर्ण बिद्यालयमा आगामी बैशाख १७ गते सम्मका लागि पठनपाठन समेत बन्द गरिएको छ । बारबर्दिया नगरपालिकामा हाल २६ जना कोरोना पोजेटिभ रहेको बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्माले जानकारी दिनुभयो ।

बर्दिया जिल्लाको ८ वटै पालिकामा २ सय १२ जना सक्रिय कोरोना पोजेटिभ रहेका छन् । यस मध्य सबभन्दा धेरै बढैयाताल गाँउपालिकामा ४३ जना, क्रमशः राजापुर नगरपालिकामा ३१ जना, बाँसगढी नगरपालिकामा २७ जना, सबभन्दा कम ठाकुरबाबा नगरपालिका र गेरुवागाउ पालिकामा १०÷१० जना रहेका छन् ।

प्रयोगशाला बन्द भएपछि समस्या
तम्घास समाचारदाताका अनुसार पछिल्लो चार दिन यता गुल्मीमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तर गुल्मीमै रहेको कोरोना परीक्षण प्रयोगशाला भने बन्द भएको छ । प्रयोगशाला बन्द भएपछि थप समस्या भएको छ । गुल्मीका स्थानीय तहहरुको सहयोगमा रेसुङगा नगरपालिकाको संयोजनमा संचालनमा आएको प्रयोगशाला बजेट अभाबका कारण बन्द भएको हो ।

परीक्षण प्रयोगशालामा काम गर्ने १० जना कर्मचारीहरुले पाँच महिनाको तलब नपाइ रित्तो हात घर फर्किएका हुन् । तर यहाँका सरोकारवालाहरुले भने उनीहरुको पारिश्रमिक दिनका लागि र कारोना परीक्षण प्रयोगशाला संचालनमा ल्याउनका लागि चासो नदिएको सरोकारवालाहरुले जनाएका छन् ।

गुल्मीमै कोरोना परीक्षण प्रयोगशाला भएपनि अब परीक्षणका लागि स्वाव पाल्पा र रुपन्देही पठाउनुपर्ने भएको छ । यहाँको परीक्षण प्रयोगशाला तत्काल संचालनमा आउने संभावना भने कम देखिएको छ ।

रेसुङगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले नगरपालिकाले परीक्षण प्रयोगशाला संचालनमा ल्याउन सक्ने अबस्था नभएको बताउनुभयो । परीक्षण प्रयोगशाला संचालन गर्न धेरै खर्चिलो हुने र पहिलेकै कर्मचारीहरुलाई पनि पारिश्रमिक दिन नसकिएको उहाँले बताउनुभयो । जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।

एकैदिन २२७ जना संक्रमित
बुटवल समाचारदाताका अनुसार रुपन्देही जिल्लामा शुक्रवार एकै दिन ९९ जना महिला र १२८ जना पुरुष गरी २२७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहका अनुसार रुपन्देहीमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १० हजार ४४ पुगेको छ भने १६५ जनाको मृत्यु भएको छ ।

त्यसैगरी निको हुनेको संख्या नौं हजार ६८ रहेको छ भने उपचारमा रहेका संक्रमितको संख्या ८११ रहेको छ । शुक्रवार रुपन्देहीको मायादेवी, मर्चवारी, सम्मरीमाई र कोटहीमाईमा कुनैपनि कोरोना संक्रमित थपिएका छैनन ।

स्वास्थ्य कार्यालयका अनुसार शुक्रवार सवैभन्दा बढी बुटवलमा कोरोना संक्रमित थपिएका छन । कार्यालयका अनुसार बुटवलमा एकै दिन ५१ जना महिला र ६४ जना पुरुष गरी ११५ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी रुपन्देहीको सैनामैनामा शुक्रबार एकै दिन १० जना कोरोना संक्रमित थपिएका छन । तीमध्ये ७ जना महिला र ३ जना पुरुष रहेका छन । कार्यालयका अनुसार भैरहवामा एकै दिन १६ जना महिला र २४ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ भने तिलोत्तमा पनि १९ जना महिला र २४ जना पुरुषमा शुक्रवार कोरोना संक्रमण पुष्टी भएको छ ।

यसैविच अभिभावक संघ रुपन्देहीले जिल्लाका विद्यालयहरुमा सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न माग गरेको छ । बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाका संस्थागत तथा सामुदायिक विद्यालयमा परीक्षाको तयारीमा रहेका विद्यार्थीमा वन्दको अवस्थाले मनोवैज्ञानिक प्रभाव परेको भन्दै परीक्षा सञ्चालन गर्न संघले माग गरेको हो ।

संघले लुम्बिनी प्रदेशको शिक्षा तथा सामाजिक विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै कतै परीक्षा हुने र कतै बन्द हुने अवस्थाले झनै अन्यौल सिर्जना गरेको उल्लेख गरेको छ । संघका अध्यक्ष लोकनाथ ज्ञवालीको नेतृत्वमा गएको टोलीले बुटवल बहुमुखी क्याम्पसमा परीक्षा चलिरहेको भन्दै बुटवल भैरहवाका विद्यालयहरुमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन माग गरेको हो ।

यता बुटवल उपमहानगरपालिकाले वैशाख मसान्तसम्मका लागि शैक्षिक संस्था बन्द गरेको छ । यस्तै उपमहानगरपालिकाले कक्षा ८ को अन्तिम परीक्षा पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ भने पूर्व निर्धारित विद्यालयस्तरीय आन्तरिक परीक्षाहरु बैशाख मसान्तसम्मका लागि स्थगित गरेको छ ।

त्यस्तै रुपन्देही व्यापार संघले हाल कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर देखापरेको अवस्थामा संक्रमणबाट सुरक्षित रहन र सर्तकता अपनाउन सबै व्यवसायी तथा सम्पूर्ण सर्वसाधारण नागरिकहरुमा अपिल गरेको छ ।

परीक्षा छिटो गर्ने निर्णय
तानसेन समाचारदाताका अनुसार पाल्पा जिल्लाका दश वटा स्थानीय तहहरूले वार्षिक परीक्षा बैशाख १२ गतेदेखि गर्ने निर्णय गरेका छन् । कोरोना सङ्क्रमण बढ्दै गएपछि पाल्पाका स्थानीय तहहरूको समन्वय बैठकले यो वर्षको वार्षिक परीक्षा तत्काल गर्ने निर्णय गरेका हुन् ।

जिल्ला प्रकाशन कार्यालय पाल्पाको समन्वयमा भएको बैठकले वार्षिक परीक्षा सकिएपछि अर्को सूचना प्रकाशित नभएसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद पाण्डेले कोरोना सङ्क्रमणको जोखिम बढ्दै जाने सम्भावना भएकाले तत्काल परीक्षा सञ्चालन गरेर विद्यालय र बालबालिकालाई कोरोना सङ्क्रमण हुनबाट जोगाउन यस्तो निर्णय गरिएको बताउनुभयो ।

बैठकले परीक्षा सञ्चालन गर्दा जनस्वास्थ्यका सबै मापदण्ड पूरा गर्ने, सभा, जुलुस, भेला, खेलकुद गतिबिधि, बैठक नगर्ने, भारतबाट आएका मानिसमा निगरानी गर्ने र कोरोना परीक्षणको व्यवस्था मिलाउने निर्णय गरेको छ । यस्तै प्रत्येक स्थानीय तहले आफ्नो जिल्ला सीमानाकामा हेल्थ डेस्क सञ्चालन गर्ने, आवश्यकता अनुसार स्थानीय तहभित्रै स्वाब सङ्कलनको व्यवस्था मिलाउने निर्णय गरिएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले जानकारी दिनुभयो । ‘जिल्लाभित्र कोरोनाको जोखिम बढेपछि आकस्मिक रुपमा यस्तो निर्णय गर्न बाध्य भएका हौँ उहाँले भन्नुभयो जति पढाई भएको छ, त्यसभित्र रहेर परीक्षा लिएर विद्यालय बन्द गर्नुपर्छ ।’

उता शुक्रबार बेलुकीसम्म १२२ जना सक्रिय सङ्क्रमित पुगेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । यसैबीच शुक्रबार आएको रिपोर्टमा जिल्लाका एक गाउँपालिकाका अध्यक्षसहित वडा अध्यक्षसमेत कोरोना सङ्क्रमित हुनुभएको छ । सङ्क्रमित गाउँपालिका अध्यक्ष र वडा अध्यक्षको स्वास्थ्य अवस्था सामान्य भएपनि खोकी भने लागिरहेको र दुबैजना होम आइसोलेसनमा रहनुभएको पारिवारिक स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया