१० खर्ब नाघ्यो व्यापार घाटा

  बैशाख १०, २०७८

काठमाडौँ, वैशाख १० : गत वर्ष कोरोना सङ्क्रमणका कारण खुम्चिएको अन्तर्राष्ट्रिय व्यापार दोस्रो लहरका बीच अहिले भने सामान्य अवस्थामै देखिएको छ । चालू आर्थिक वर्षको नौ महिना अर्थात् चैतसम्म नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार १२ खर्ब नाघेको छ ।

आयात बढ्दा व्यापार घाटा पनि १० खर्ब बढी नाघिसकेको तथ्याङ्कले देखाउँछ । भन्सार विभागका अनुसार यो अवधिमा नेपालले ११ खर्ब ११ अर्ब रुपियाँभन्दा बढीको वस्तु आयात गरेको छ । त्यस्तै नेपालबाट ९४ अर्ब ७६ करोड रुपियाँको निर्यात भएको देखिन्छ । आयात र निर्यातको यो अन्तर अर्थात् व्यापार घाटा भने १० खर्ब १६ अर्ब रुपियाँभन्दा बढी रहेको विभागले जनाएको छ ।

चैतसम्मको आयात गत वर्षकै चैतको तुलनामा १३.१२ प्रतिशतले बढी हो । विभागका अनुसार गत चैतसम्म नेपालले करिब नौ खर्ब ८२ अर्ब रुपियाँको आयात गरेको थियो । चालू आवमा सबैभन्दा बढी ५९ अर्ब ७४ करोड रुपियाँको डिजेल आयात भएको छ । त्यसपछि ५० अर्ब ५९ करोडको अर्धप्रशोधित फलाम तथा स्टिल, २५ अर्ब ४३ करोडको एलपी ग्यास, २३ अर्ब ३६ करोडको पेट्रोल र करिब २३ अर्ब रुपियाँको कच्चा भटमास आयात भएको तथ्याङ्कले देखाउँछ ।

निर्यातमा पनि गत वर्षको तुलनामा निकै सुधार देखिन्छ । विभागका अनुसार गत वर्षको चैतको तुलनामा अहिले २०.२३ प्रतिशतले निर्यात बढेको छ । नेपालको निर्यात बढाउन भटमास तेलले ठूलो आड दिएको छ । कच्चा भटमास आयात गरेर त्यसलाई प्रशोधन गरेर भारत निर्यात गर्ने नयाँ प्रचलन फस्टाउँदा निर्यातको आकार पनि बढेको देखिन्छ ।

विभागका अनुसार चैतसम्म २८ अर्ब ८१ करोड रुपियाँको भटमास तेल निर्यात भएको छ । त्यसपछि पाँच अर्ब ६० करोडको अलैँची, दुई अर्ब ८७ करोड रुपियाँको गलैँचा, दुई अर्ब ७७ करोडको तयारी कपडा र दुई अर्ब ७१ करोडको कालो चिया निर्यात भएको तथ्याङ्कले देखाउँछ ।

तपाईको प्रतिक्रिया