अध्यक्ष ओली र नेता नेपालबीच आज पनि भेटवार्ता

  बैशाख ०९, २०७८

काठमाडौं, वैशाख ९ : नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच पार्टीभित्रको विवाद मिलाउन आज पनि भेटवार्ता भएको छ । उहाँहरूबीच आज दिउँसो राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो ।

भेटवार्तापछि नेता नेपालले सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै छलफल चलिरहे पनि ठोस प्रगति नभएको बताउनुभयो । नेताद्वयले उक्त होटलबाट निर्माण सम्पन्न हुँदै गरेको धरहरा टावर नियाल्नुभएको थियो ।

पार्टी विभाजनमा पुग्ने आशङ्का बढिरहेका बेला दुई शीर्ष नेताबीचको संवाद शुरु हुनुले कार्यकर्ता तहमा उत्साह पैदा भएको छ । नेता नेपालले बुधबार अध्यक्ष ओलीसँग भएको संवादबारे आफू निकटका नेतालाई आज ‘ब्रिफिङ’ गर्नुभएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७२ वर्ष पूरा हुने पूर्वसन्ध्यामा हिजो भएको ओली र नेपालबीचको भेटले सत्तारुढ नेकपा एमालेभित्र सकारात्मक तरङ्ग पैदा गरेको थियो । आज बिहीबार पनि पाँचतारे मेरियट होटलमा ओली र नेपालबीचमा भेटवार्ता सँगसँगै पुनः निर्माणको अन्तिम चरणमा पुगेको  धरहराको संयुक्त रुपमा अवलोकन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया