कोरोना कहरबीच अर्थतन्त्र चलायमान हुन आवश्यक : अध्यक्ष सिंह

  बैशाख ०८, २०७८

काठमाडौं, वैशाख ८ : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले कोभिड–१९ को कहरबीच अर्थतन्त्र चलायमान हुनु आवश्यक रहेको बताउनु भएको छ । महासंघको हालै सम्पन्न २२ औं साधारण सभाका निर्णयहरू सार्वजनिक गर्न बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सिंहले अन्य क्षेत्रमा जस्तै निर्माण उद्योगमा पनि कोभिडको असर देखापरिसकेको बताउनुभयो ।

‘तर अर्थतन्त्रलाई चलायमान बनाउन स्वास्थ्यको मापदण्ड अपनाई निर्माण कार्यहरू संचालन गर्नुको विकल्प छैन’ अध्यक्ष सिंहले भन्नुभयो । म्याद थपमा देखिएको जटिलता, निर्माण सामाग्रीको अभाव, चर्को मुल्यवृद्धि लगायतका कारणले मुलुकको निर्माण उद्योग समस्याग्रस्त रहेको बताउनुभयो । निर्माण परियोजनाहरू सम्पन्न भएपनि व्यवसायीहरूको ठूलो रकम भुक्तान हुन बाँकी रहेको अध्यक्ष सिंहले जानकारी दिनुभयो । महासंघको अवधारणा बमोजिम लो बिडिङलाई निरुत्साहित गर्ने हो भने निर्माण उद्योगमा देखिएका धेरै समस्या समाधान हुने अध्यक्ष सिंहले बताउनुभयो ।

आवश्यता अनुसार परियोजनाहरूको म्याद थप गर्न ढिलाइ हुँदा निर्माण उद्योगमा धेरै समस्या आएको उहाँले बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे पूर्वाधार क्षेत्रको विकास विना आर्थिक समृद्धि असम्भव रहेको बताउनुभयो । महासचिव रोशन दाहालले साधारण सभाका निर्णयहरू ४१ बुँदे काठमाडौं घोषणापत्र मार्फत सार्वजनिक गर्दै सम्बन्धित् निकायले महासंघको माग सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया