कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकमा यादव

  बैशाख ०८, २०७८

काठमाडौँ, वैशाख ८ : नेपाली कांग्रेसले पार्टीको केन्द्रीय निर्वाचन समितिको संयोजकमा पूर्वसांसद, पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवलाई नियुक्त गरेको छ ।

पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३५ बमोजिम केन्द्रीय निर्वाचन समितिको संयोजकमा उहाँलाई नियुक्त गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिनुभयो । निर्वाचन समितिका यसअघिका संयोजक राधेश्याम अधिकारीले पदबाट राजीनामा दिएपछि वरिष्ठ अधिवक्ता यादवलाई सो पदमा नियुक्त गरिएको हो ।    
    
कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने तालिका निर्धारण गरेको छ । महाधिवेशनका लागि पार्टीका गाउँ-नगर, वडा अधिवेशन आगामी असार २० गते, गाउँ-नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते निर्धारण गरिएको छ ।    
    
त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन आगामी असार २७ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन असार ३० गते र प्रदेश अधिवेशन आगामी आगामी साउन ६ गते तोकिएको कांग्रेसले जनाएको छ । 

तपाईको प्रतिक्रिया