अमेरिकन आइडल प्रतिस्पर्धामा दिवेश पोखरेल

  बैशाख ०६, २०७८

काठमाडौँ, वैशाख ६ : अमेरिकन आइडलको १८ औं सिजनमा उपविजेता बनेका नेपाली गायक दिवेश पोखरेल फेरि आइडलमा प्रतिस्पर्धा गर्ने भएका छन् । आइडलले गत वर्षका १० गायक/गायिकालाई प्रतिस्पर्धाका लागि निम्तो दिएसँगै स्टेज नाम अर्थर गनले चिनिने पोखरेलसहित ९ जनाले अप्रिल १९ मा प्रशारण हुने कार्यक्रमका लागि प्रतिस्पर्धा गर्नेछन् ।

‘कमब्याक प्रतिस्पर्धी’हरुमा जसले बढी भोट पाउनेछन् त्यसले नै यो सिजनको शीर्ष १० मा प्रवेश पाउने बिलबोर्डले उल्लेख गरेको छ । आगामी अप्रिल १९ मा प्रशारण हुने आइडलमा यी १० प्रतिस्पर्धीहरुले स्टेजमा आफ्नो प्रस्तुति दिनेछन् । यसअघि कोभिड महामारीका कारण यी प्रतिस्पर्धीहरुले घरबाटै आफ्नो प्रस्तुति दिएका थिए ।

दिवेशसँगै फेथ बेक्नेल, फ्र्यांकलिन बुन, ड्वाने क्रकर जुनियर, सिनाय एलिस, आलियाना जेस्टर, लुइस नाइट, निक मेरिको, मिकेल फिलिप्स, ओलिभिया जेमिनिसले अमेरिकन आइडल जित्ने दोस्रो मौका पाएका छन् । कमब्याक प्रतिस्पर्धीको घोषणा भएसँगै गायक पोखरेल सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत भोट माग्न सुरु गरिसकेका छन् । ‘तपाईंहरुलाई थाहै छ यो अप्रिल १९ मा कमब्याक प्रस्तुति हुनेछ । सोमबार प्रशारण हुने कार्यक्रम हेरेर तपाईंको मनपर्ने प्रतिस्पर्धीलाई भोट दिनुहोस् जसलाई तपाईं शीर्ष १० मा देख्न चाहनुहुन्छ,’ अर्थरले इन्स्टाग्राममा लेखेका छन् ।

कमब्याक प्रतिस्पर्धीको घोषणा भएसँगै धेरैले यसलाई दिवेशका लागि अमेरिकन आइडल जित्ने दोस्रो मौकाका रुपमा चर्चा गर्न थालेका छन् । गत वर्ष दिवेशलाई धेरैले आइडलका विजेताको दाबेदारका रुपमा व्याख्या गरेका थिए । तर त्यो वर्ष धेरै भोट पाएर जस्ट स्याम विजेता भएकी थिइन् । के दिवेशले यो वर्ष अमेरिकन आइडलको उपाधि जित्लान् त ? उनको आगामी प्रतिस्पर्धाले नै देखाउने इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया