आयल निगममा ईआरपी प्रणाली सुरु, सबै काम अनलाइनमार्फत हुने

  बैशाख ०४, २०७८

काठमाडौँ, वैशाख ४ : नेपाल आयल निगममा इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली सुरु गरिएको छ । जुन प्रणालीबाट निगमका सम्पूर्ण कारोबार तथा कामकारबाही अनलाइनमार्फत हुने जनाइएको छ । एकै ठाउँबाट सबै कारोबारको निरीक्षण तथा अनुगमन गरी थप प्रभावकारी सेवा प्रवाहका लागि ईआरपी प्रणालीमा काम सुरु गरिएको निगमले जनाएको छ ।

ईआरपी प्रणाली सुरु गरेपछि पेट्रोलियम पदार्थको कारोबारमा भौतिक उपस्थिति नभई अनलाइनबाटै कारोबार हुनेछ । पेट्रोलियम पदार्थका व्यवसायीहरूलाई अनलाइनबाट पेट्रोलियम पदार्थको माग र भुक्तानीको सुविधा छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले भन्नुभयो, “एकीकृत कार्यप्रणालीमा जानेगरी सरकारले काम गर्न खोजिरहेको हुँदा निगमले पनि सोहीअनुसार आफ्ना कामहरूलाई व्यवस्थित र अझ प्रभावकारी बनाउन अनलाइन प्रणालीमा काम गर्न सुरु गरेका हौँ ।”

ईआरपी प्रणाली शुक्रबारदेखि परीक्षणका रूपमा निगमले सुरु गरेको छ । प्रवक्ता उपाध्यायको भनाइ छ, “अनलाइन प्रणालीमा हामी पहिलो पटक काम गर्दै र्छौं । आज पनि केही कठिनाइ देखापरे, प्राविधिकहरूले काम गरिरहनुभएको छ । तीन महिना परीक्षण भएकाले जहाँ समस्या आउँछ त्यहाँ समाधान हुन्छ, परीक्षणपछि पूर्ण रूपमा कार्यान्वयन हुन्छ । ”

ट्याङ्करको निगरानी
ईआरपी प्रणालीबाट पेट्रोलियम पदार्थको ढुवानीका क्रममा हुने चुहावट तथा प्राविधिक नोक्सानी अनलाइनबाट निगरानी गरी न्यूनीकरण गरिनेछ । निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करहरूलाई इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टमबाट जीपीएस प्रणालीमा लैजानेछ । जसले गर्दा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको लोडदेखि अनलोडसम्मको रुटमा अनलाइन निगरानी हुनेछ ।

निगमका अनुसार ट्याङ्करको रुट, समय तथा यात्राको रेकर्ड निगरानी हुनेछ । भारतबाट पेट्रोलियम पदार्थ भरेर नेपाल आउने ट्याङ्करलाई पनि यही प्रविधिबाट निगरानी गरिनेछ । ढुवानीमा रहेका ट्याङ्करलाई प्रत्यक्ष निगरानी गरिने भएकाले चुहावट र मिसावट नियन्त्रण हुने निगमको दाबी छ । ईआरपी प्रणालीबाटै निगमका देशभरका प्रादेशिक कार्यालय, डिपोहरू र विभागहरूको दैनिक कामकारबाही एकीकृत सूचना प्रणालीमा आउनेछन् । एकै स्थानबाट निगरानी र निर्देशन हुनेछ । प्रशासनभित्रको बेथिति र ढिलासुस्तीको अन्त्य हुने निगमको दाबी छ । पेट्रोल पम्प तथा बिक्रेताहरूले अनलाइनबाट माग र भुक्तानी गर्नेछन् । निगमको दैनिक कारोबार तथा तथ्याङ्क अनलाइन प्रणालीमा हुनेछ ।

विश्वसनीय प्रविधि
ईआरपी प्रणाली विश्वमा अधिकांश इन्धन उत्पादक तथा वितरक कम्पनीले प्रयोग गर्दै आएको विश्वसनीय प्रविधि भएको निगमले जनाएको छ । यसले नेपालको पेट्रोलियम पदार्थको बजार व्यवस्थित गर्ने दाबी गरिएको छ । इन्डियन आयल कर्पोरेसनले पनि ईआरपी प्रणाली लागू गरेको छ ।
ईआरपी जडानले निगमको खर्च घट्नुका साथै आम्दानीमा वृद्धि हुने दाबी गरिएको छ । अनावश्यक खर्च तथा जनशक्तिको व्यवस्थापन हुने निगमले जनाएको छ । ईआरपी प्रणालीमा जान निगमले करिब २५ करोड रुपियाँ लगानी गरेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया