काठमाडौं, वैशाख ३ : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच टेलिफोन वार्ता भएको छ । सर्वदलीय बैठक आह्वान गर्नुअघि प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग टेलिफोन वार्ता गर्नुभएको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकको निमन्त्रणाका लागि अध्यक्ष प्रचण्डलाई टेलिफोन गर्नुभएको हो । टेलिफोनको क्रममा निमन्त्रणासहित केही राजनीतिक विषयमा कुराकानी हुनु स्वभाविक रहेको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले शुक्रबार ललितपुरको कोन्जोसोम गाउँपालिकाको भवन उदघाटनमा सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्रीको टेलिफोन आएको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “धेरै दिनपछि प्रधानमन्त्री ओलीको मलाई टेलिफोन आयो, म एउटा गाउँपालिकाको भवन उदघाटन गर्दैगर्दा फोन आयो ।” यहाँको बाटो फराकिलो नभएकाले म त्यसबारेमा पनि प्रधानमन्त्रीसँग कुरा गर्नेछु उहाँले धारणा राख्नुभयो ।






