भारतबाट फर्किएका ४७ जनामा कोरोना पुष्टि

  बैशाख ०२, २०७८

धनगढी, वैशाख २ : गौरीफन्टा नाका भएर आज भारतबाट फर्किएका ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शङ्कास्पद् र स्वास्थ्य समस्या भएका व्यक्तिहरुको एन्टिजेन विधिबाट नाकामै स्वास्थ्य परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

गौरीफन्टा नाका भएर फर्किएका एक हजार २५ जनामध्ये शङ्कास्पद् ४१२ जनाको स्वास्थ्य परीक्षण गरिएको नाकामा खट्नु भएका धनगढी उपमहानगरपालिकाका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले जानकारी दिनुभयो । भारतमा कोरोना सङ्क्रमण तीव्र गतिले फैलिन थालेपछि त्यहाँ रहेका नेपालीहरु धमाधम स्वदेश फर्किरहेका छन् । विभिन्न नाकाबाट उनीहरुसँगै कोरोना पनि भित्रिरहेको छ ।

गौरीफन्टा नाकामा गएको चैत ३ गतेदेखि एन्टिजेन विधिबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको थियो । त्यसयता, हालसम्म आठ हजार ४७४ जनाको परीक्षण गरिएको छ । जसमध्ये ५५८ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको ठकुल्लाले बताउनुभयो । भारतबाट फर्किने सबैको स्वास्थ्य परीक्षण भने गर्न सकिएको छैन । महाराष्टका विभिन्न सहरलगायत अतिप्रभावित क्षेत्रबाट फर्किनेहरुको अनिवार्य रुपमा र अन्यत्रबाट आउनेहरुको स्वास्थ्य समस्याका आधारमा कोरोना परीक्षण गर्ने गरिएको छ ।

यसैगरी, समूहमा आएको व्यक्तिहरुमध्ये नमूना छनोटको आधारमा दुई/तीन जनाको स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । नमूना लिइएकाहरुको रिपोर्ट पोजेटिभ आएमा समूहका सबैको परीक्षण गर्ने र रिपोर्ट नेगेटिभ आएमा सबैलाई घर जान दिइने गरेको जनाइएको छ ।
भारतबाट फर्किने सबैको नाकामै स्वास्थ्य परीक्षण नहुँदा सुदूरपश्चिम प्रदेशभरि कोरोना सङ्क्रमण पनि बढ्न थालेको छ ।

तपाईको प्रतिक्रिया