नयाँदिल्ली, वैशाख २ : भारतमा पछिल्लो चौबीस घण्टामा थप दुई लाखभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमितको पहिचान गरिएको छ ।
नयाँ थपिएका सङ्क्रमितसँगै कूल सङ्क्रमित एक करोड ४० लाख ७४ हजारभन्दा बढी पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा दुई लाख ७३९ जना संक्रमितको पुष्टि भएको छ ।
भारतमा कोरोना भाइरस सङ्क्रमणको माहामारी शुरु भएयता एकै दिनमा दुई लाखभन्दा बढी सङ्क्रमित पहिचान गरिएको यो पहिलोपटक हो । यसअघि मङ्गलबार एक दिनमा एक लाख ८४ हजार भन्दा बढी व्यक्ति संङ्क्रमित भएका जनाइएको थियो ।
कोरोना सङ्क्रमणबाट बुधबार एकैदिनमा एक हजार ३८ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना सङ्क्रमणले मृत्यु हुने व्यक्तिको सङ्ख्या एक लाख ७३ हजार नाघेको छ ।
पछिल्लो केही दिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुँदै आएका थिए भने बुधबार एकैदिनमा २ लाखभन्दा बढी सङ्क्रमित भएका हुन् । भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो ।






