सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ : सञ्चारमन्त्री

  बैशाख ०१, २०७८

ललितपुर, वैशाख १ : सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङले सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको बताउनुभएको छ । समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषले आज ललितपुरको मङ्गलबार बजारमा आयोजना गरेको नयाँवर्ष २०७८ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रे विमोचन कार्यक्रममा मन्त्रि गुरुङले उक्त धारणा राख्नुभएको हो ।

मन्त्री गुरुङले मुलुकको राजनीतिक यात्रा अन्योलतातर्फ धेकेलिएकाले मुलुक दिशाविहीन हुने हो भन्ने चिन्ता रहेको धारणा राख्नुभयो । वर्तमान सरकारले जनताको हितमा काम गरिरहेको भन्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा समृद्ध नेपाल सुखी नेपालीको अभियान सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।

केन्द्रदेखि प्रदेश तथा स्थानीय तहसम्म विकास निर्माणका काम तीव्र गतिमा भइरहेको स्पष्ट पार्दै मन्त्री गुरुङले सरकार सही दिशा लिन प्रयासरत रहेको उल्लेख गर्नुभयो । सरकारले सधैँ ज्येष्ठ नागरिक हितमा काम गर्दै आएको स्पष्ट पार्दै मन्त्री गुरुङले आगामी आर्थिक वर्षको बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको विशेष ख्याल गरिने बताउनुभयो । ज्येष्ठ नागरिकको सम्मानमा सरकारले कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ थियो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ज्येष्ठ नागरिकलाई मृत्युपश्चात नभई जीवित छँदै सम्झिनुपर्नेमा जोड दिनुभयो । महानगरपालिकाले ज्येष्ठ नागरिकको हकमा विभिन्न कार्य गर्दै आएको उहाँले बताउनुभयो । यस्तै वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले ज्येष्ठ नागरिकको अनुभवबाट समाज र मुलुकले लाभ लिनुपर्ने बताउनुभयो । ज्येष्ठ नागरिकको सहज जीवनका लागि सबै निकायको प्रयास आवश्यक रहेको उहाँको भनाइ थियो । सो अवसरमा मन्त्री गुरुङ, नगरप्रमुख महर्जन र वाङमय शताब्दी पुरुष जोशीले संयुक्त रुपमा भित्तेपात्रोको विमोचन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया