‘द् ब्युटी अफ नेपालस फ्लोरा’को प्रदर्शन

  चैत ३०, २०७७

काठमाडौं, चैत २८ : वानस्पतिक विविधता र सौन्दर्यलाई कलामार्फत् शिक्षा, संरक्षण र अनुसन्धान उपयोगी बनाउन सकिन्छ रु वानस्पतिक विविधता शृङ्खलामा चित्रकला सिर्जना गर्दै आउनुभएकी कलाकार नीरा जोशी प्रधानको एकल प्रदर्शनी ‘द ब्यूटी अफ नेपालस् फ्लोरा’ प्रदर्शनी भइरहेको छ ।

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा मङ्गलबारदेखि सुरु भएको प्रदर्शनीमा वनस्पतिमा पाइने विविधता र सौन्दर्यलाई प्रस्तुत गर्नुभएको छ । पाखनवेद, लालीगुराँस, सुनगाभा, चाँप, चिलाउने, लुँकली स्वाँ, जमानेमान्द्रो, साँग्लेजस्ता नेपाली रैथाने वनस्पति र जाकाराण्डा, रुख कमल, सूर्यमुखी फूललगायत केही आयातित वनस्पतिलाई समेटेर वनस्पति कला शृङ्खला प्रस्तुत गर्नुभएको छ ।

‘प्लान्ट साइन्स’ मा स्नातकोत्तर गर्नुभएकी नीराले अध्ययनकै क्रममा वनजंगलमा प्राप्त रैथाने वनस्पतिको चित्र उतार्दै जाँदा कलाकारितालाई नै जीवनको प्रमुख मार्ग बनाउनुभएको थियो । अध्ययनका क्रममा पेन्सिल, कलम र मसीले कोरिएका चित्रकला समेटेर सम्भवतः नेपालमा पहिलोपटक २२ वर्षअघि पार्क ग्यालरीमा बोटानिकल चित्रकला प्रदर्शनी ‘फ्लोरा फ्रम काठमाडौँ भ्याली’ प्रदर्शनी गर्नुभएको थियो ।

नेपाली कलाकारिताको क्षेत्रमा ख्यातीप्राप्त रामानन्द जोशीका छोरी नीराले कला प्रदर्शनीपछि औपचारिक कलाको प्रशिक्षणचाहिँ अमेरिका र स्कटल्याण्डबाट लिनुभएको हो । बोटानिकल चित्र विज्ञान र कलालाई संयोजन गर्दै नेपाली रैथाने वनस्पतिलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नीराले परिचित गराउँदै आउनुभएको छ । नेपालका जंगल चहारेर कलम, मसी, जलरंङ र पेन्सिल माध्यममा मिहिन ढङ्गले उतारिएका वनस्पतिको सौन्दर्य वनस्पतिको खोज, अध्ययनकर्ताका लागि समेत उपयोगी भएको छ ।

विज्ञानमा स्नातकोत्तर विद्यार्थीका लागि वैज्ञानिक चित्र सहितको आधारभूत पाठ्यक्रमको विकास समेत गर्नुभएकी कलाकार नीराले ‘स्कुल अफ बोटनिकल आर्ट स्टुडियो’ मा इच्छुक विद्यार्थी र कलाकारलाई वोटनिकल आर्ट पढाउँदै पनि आउनुभएको छ । वनस्पतिमा रहेका अनेकन रहस्यलाई चित्रकलामा प्रस्तुत गर्ने कलाकार नीराले प्रदर्शनीमा १० वर्षसम्मका आफ्ना ३२ चित्र सङ्कलन राख्नुभएको छ । प्रदर्शनी २०७८ वैशाख १३ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रदर्शनीमा राखिएका कलाकृतिबारे कलाकार नीरा भन्नुहुन्छ, “नेपालमा पाइने स्वदेशी, रैथाने तथा केही विदेशी वनस्पतिका चित्रहरु प्रदर्शनीमा राखेको छु, जुन सांस्कृतिक, ऐतिहासिक र सामाजिक अर्थमा निकै महत्वपूर्ण छन् ।” बोटनिकल कलामा काम गर्न आफूमा रहेको वैज्ञानिक पक्षको रुचिले महत्वपूर्ण सहयोग गरेको बुझाई उहाँको छ । उहाँ भन्नुहुन्छ, “त्यस्ता कलाकृति बनाउनका लागि प्राविधिक पूर्णता र वैज्ञानिक ज्ञानको आवश्यक पर्दछ । जीवन्त चित्रकला बनाउनु, मृत सामग्रीबाट वैज्ञानिक चित्रण गर्दै कला र वनस्पतिप्रति प्रेम दर्शाउनु चुनौतीको काम हो ।”

तपाईको प्रतिक्रिया