काठमाडौं, चैत २७ : बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी वैशाख १३ गतेभित्रमा कीर्तिपुरबासीको घर घरको धारामा आउने भएको छ ।
वैशाख १२ गतेसम्म ट्याङ्की शुद्धीकरण एवं निर्मलीकरणको काम सम्पन्न भएपछि वैशाख १३ गतेदेखि मेलम्चीको पानी कीर्तिपुरबासीको धारामा झार्ने योजना रहेको कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
वैशाख १० गतेसम्म कीर्तिपुर नगरपालिकाको भाजंगल, चिलन्चो र देवढोकास्थितको रिजर्वायरमा मेलम्चीको पानी जम्मा हुनेछ । यससँगै उमामहेश्वर र ल्याकलमा रिजर्वायर निर्माण र पानी वितरणको लागि पाइपलाइन निर्माणको काम तीव्र गतिमा अघि बढेको उहाँले बताउनुभयो ।
प्रतिदिन ५० लाख लिटर पानी वितरण हुने गरि तयारी भएको कीर्तिपुरस्थित केयूकेएले जनाएको छ । यसपछि सुरुमा कीर्तिपुरबासीको सबै घरमा प्रतिदिन एक घण्टा पानी खस्नेछ । पहिलो चरणमा वडा नम्बर १, २, ३ र ९ को केही भागको घरमा मेलम्चीको पानी केयूकेए जानकारी दिएको छ ।
यस पश्चात् वडा ८ र ९ का अन्य भागमा मेलम्चीको पानी वितरण हुने बताइएको छ । यसै गरी वडा नम्बर ४, ५, ६, ७ लाई भने आन्तरिक श्रोत र उत्पादनबाट पानीको आपूर्ति हुने किर्तिपुरस्थित केयूकेएल कार्यालयले जनाएको छ । हाल कीर्तिपुरमा साढे १० हजार धारा जडित छन् ।
पहिलो चरणमा ४ हजार ५ सय धारामा यसको १ हप्ता पछि ६ हजार धारामा, त्यसपछि दुई–दुई हप्ताको फरकमा ८ हजार धारामा गर्दै १० हजार धारामा पानी पु¥याउने योजना केयूकेएलको छ । यसरी मेलम्चीको पानी कीर्तिपुर लगायत उपत्यकाबासीको घरमा झर्ने क्रम बढेसँगै पानीको उचित सदुपयोग गर्न केयूकेएलको सुझाएको छ ।






