काठमाडौं, चैत २६ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट प्रतिनिधिसमा सदस्य रहनुभएका चार सदस्यको पद रिक्त भएको छ । बिहीबार बसेको सभामुख अग्निप्रसाद सापकोटाले माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चार सांसद पदमुक्त भएको घोषणा गर्नुभएको हो ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रीसमेत रहनुभएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न्न भई केन्द्रीय सदस्य स्वीकार गरी दल त्याग गरेको भनी माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयमा निवेदन दिएकाले पद रिक्त रहेको जानकारी गराउनुभयो ।
उहाँहरु राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ (१) बमोजिम पद रिक्त रहेको भएको घोषणा गरिएको हो । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । चारैजना सांसद मन्त्री हुनुहुन्छ ।






