जनताको जिउधन संरक्षणमा ध्यान दिन सरकारसँग सांसदहरुको आग्रह

  चैत २३, २०७७

काठमाडौं, चैत २३ : प्रतिनिधिसभाका सांसदहरुले दैनिक आइपर्ने समस्या समाधान गरी जनताको जिउधनको रक्षा गर्न सरकारसँग आग्रह गर्नुभएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा सोमबार दिउँसो बसेको बैठकमा सांसदहरुले त्यस्तो सुझाव राख्नुभयो । काँग्रेस सांसद डिला संग्रौला पन्तले सरकारले संसद बैठकलाई बिजनेस विहीन बनाइरहेको टिप्पणी गर्नुभयो ।

वातावरण प्दूषित रहेको, जताततै डढेलो लागेका बेला सरकारले वातावरण सुरक्षित बनाउन र जनताको जिउध्यानको संरक्षणमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णकुमारी सुवेदीले बाँकेको नरैनापुर गाउँपालिकामा वर्षेनी आगलागी हुने र ठूलो मात्रामा जिउधनको नाश हुने गरेकाे बताउनुभयो । त्यसको दीर्घकालीन समस्या समाधानमा ध्यान दिन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

गाउँमा खर र फुसका झाप्रा बढी भएकाले त्यसको ठाउँमा जस्ताको छाना लगाउने योजना ल्याउन उहाँले सरकारसँग माग गर्नुभयो । संसदले अझै पर्याप्त बिजनेस पाउन नसकेको बताउँदै सांसद सुवेदीले सरकारलाई विजनेस दिन आग्रह गर्नुभयो । सांसद प्रदीप यादवले कोरोना कहर पुनः दोस्रो चरणमा प्रवेश गरेकाले सामना गर्न पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो । कोरोना महामारीमा सरकारी अस्पतालले नै महत्वपूर्ण भूमिका खेलेकाले सरकारी अस्पताललाई सुविधा सम्पन्न बनाउन उहाँले माग गर्नुभयो ।

महामारीका बेला निजी अस्पतालले अस्पतालमा उपचार गर्न छाडेर ढोका लगाएर बसेको उहाँले टिप्पणी गर्नुभयो । सांसद पदम गिरीले विकासका विभिन्न आयोजनाहरुको काम गरिरहेको र मुलुकलाई समृद्ध बनाउने अभियानमा रहनुभएको बताउनुभयो । आयोजना पूरा भएमा मुलुकको आर्थिक रुपले कायापलट हुने पनि उहाँले बताउनुभयो । सरकारले ३३ सय किलोमिटर ग्राभेल सडक निर्माण भएको, कालोपत्रे तथा पक्की पुलको निर्माण भएको बताउनुभयो ।

यत्तिधेरै काम नेपालको इतिहासमा गौरवमय भएको उहाँले सरकारलाई धन्यवाद दिनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम पनि अगाडि बढेकाले देश समृद्धिको बाटोमा रहेको उहाँले चर्चा गर्नुभयो । आजको बैठकमा सरकारको तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तीसौं वार्षिक प्रतिवेदन आव २०७६-७७ पेश गर्ने कार्यसूची छ ।

सोहीअनुसार सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले वार्षिक प्रतिवेदन २०७७ पेश गर्नुहुनेछ । त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७७ बैठकमा पेश गर्नुहुने कार्यसूची तय भएको छ । बैठक जारी छ । सांसदहरु विशेष समयमा धारणा राख्ने क्रम जारी छ । 

तपाईको प्रतिक्रिया