हिमाल दर्शन अपरेशनमा सेना : पुरिएका स्तम्भको सफाइ र रङराेगन

  चैत २३, २०७७

चरिकोट, दोलखा, चैत २३ : दोलखा, राजधानी काठमाडौंबाट नजिकैको हिमाली जिल्ला हो । दक्षिणमा रामेछाप, पश्चिममा सिन्धुपाल्चोक रहेको यस जिल्लाको पूर्व र उत्तरमा छिमेकी राष्ट्र चीनसँग सीमा जोडिएको छ । चीन र नेपाल सीमा छुट्याउन कतिपय ठाउँमा हिमाल र नदीको सहायता लिइएको छ भने अन्य ठाउँमा सीमा स्तम्भहरू निर्माण गरिएको छ ।

दोलखाको विगु गाउँपालिका– १ लाप्चे आसपासको ९० किलोमिटर भुभागमा भने सात वटा सिमा स्तम्भहरु छन् । २०१९ साल र २०६३ सालमा बनेका यी स्तम्भहरुको दोलखा जिल्लामा तैनाथ नेपाली सेनाको तारादल गणको एक टोलीले अवस्था अवलोकन गरेका छन् । सो क्रममा झाडी बुट्यानले छोपिएको स्तम्भहरु सफा गर्नुका साथै अक्षर र नम्बर मेटिएका पिलरहरुमा रङ्गले लेख्ने काम गरेका छन् ।

अपरेशन हिमाल दर्शनको दौरानमा खटिएका सेनाका ३० जनाको टोलिले सो काम गरेको तारादल गण दोलखाका गणपति प्रमुख सेनानी अनिल केसीले जानकारी दिनुभयो । २०७७ साल चैत्र २ गतेदेखि २१ गतेसम्म सो कार्य गरेको बताउँदै उहाँले भन्नुभयो ‘दोलखा जिल्लामा पर्ने अन्तर्राष्ट्रिय सीमा (नेपाल–चीन) ईलाकामा रहेका सीमा स्तम्भहरुको अवस्था अवलोकन तथा आवश्यक सरसफाई गरि मेटिएका अक्षर र नम्बरहरुमा रङ्ग लगाउने कार्य गरेका छौँ ।’

उक्त टोलीले सीमा स्तम्भको अक्षांश र देशान्तर संकलन गरेर ल्याएका छन् । यसले स्तम्भ पहिलाको अवस्थामा छ, छैन भन्ने कुरा यसअघिको रेकर्ड हेरेर थाहा पाउन सकिन्छ । लाप्चे लगायत आसपासका क्षेत्रमा ५५ देखि ६१ नम्बर सम्मको सात वटा सीमा स्तम्भहरु छन् । ती स्तम्भहरु मध्ये ५५ र ६० नम्बरको सीमा स्तम्भ भत्किएको अवस्थामा छ । लाप्चे खोला माथिको बायाँ तर्फ अवस्थित ५५ नम्बरको स्तम्भ पहिरोले पुरिएको अवस्था रहेको बताउदै प्रमुख सेनानी केसीले भन्नुभयो हामीले त्यसलाई चलाएनांै, अन्य सीमा स्तम्भको भने सरसफाइ देखि रङ्ग रोगन गर्यौ ।

‘जुमखोला माथिको बायाँ र्फ रहेको ६० नम्बरको पिलर पनि माथिबाट आएको पहिरोले पुरिएको अवस्थामा छ ।’ उहाँले भन्नुभयो, ‘सो स्थानमा चीन तर्फबाट ढुङ्गामा नम्बर लेखेर मार्किङ गर्नुका साथै चीनको झण्डा गाडिएको अवस्थामा रहेको छ ।’ हिमाली जिल्लाहरुको खाली जमिनको स्थिति, सिमा इलाकाको अवस्था र स्थानीयलाई सुरक्षाको प्रत्याभूति दिनका लागि प्रत्येक वर्ष नेपाली सेनाले हिमाल दर्शन अपरेसन सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया