समर्थन फिर्ता गर, राजीनामा आइहाल्छ : प्रधानमन्त्री

  चैत २१, २०७७

काठमाडौं, चैत २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई दिएको समर्थन फिर्ता लिएमा राजीनामा दिने बताउनुभएको छ । शनिबार एक कार्यक्रममा बोल्ुहुँदै उहाँले आफूले राजीनामा माग्दैमा नदिने तर समर्थन फिर्ता लिएमा राजीनामा आउने बताउनुभएको हो ।

बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लिइदिन भन्नुभएको तर त्यसो नभएकाले राजीनामा नदिएको बताउनुभएको हो । ‘आज मागेको हो र राजीनामा ? माग्या माग्यै छ त, मागैपिच्छे म कसरी दिनसक्छु राजीनामा ? एकदिन एउटा राजीनामा हुन्छ । एउटाले माग्दैन, दुइटाले माग्दैन, एकदिन माग्दैन, दुई दिन माग्दैन । माग्या माग्यै छ,’ ओलीले भन्नुभयो, ‘ए बाबा ! हटाउ न त । समर्थन फिर्ता लिइदेऊ भन्छु लिँदैन । अनि राजीनामा माग्छ । राजीनामा आइहाल्छ, समर्थन फिर्ता गर न । समर्थन फिर्ता पनि गर्दैन, अनि राजीनामा माग्छन् ।’

ओलीलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएको छैन । ओलीले माओवादीतर्फ लक्षित गर्दै समर्थन फिर्ता नलिएकाले राजीनामा दिन नसकेको बताउनुभएको हो । प्रमुख प्रतिपक्षी कांग्रेसले शुक्रबार प्रधानमन्त्री ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन माग गरेको थियो । त्यस्तै, उसले ओलीलाई हटाएर आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्न अग्रसरता लिने पनि निर्णय गरेको थियो ।

ओलीले राजीनामाको समाचारलाई प्राथमिकता दिएको र सरकारले गरेका विकास निर्माणका कामलाई अगाडि नराखेको भनेर असन्तुष्टि जनाउनु भयो । उहाँले जहिले पनि आफ्नो राजीनामालाई बढी प्राथमिकता दिइएको तर सडक निर्माण, मेलम्ची खानेपानी जस्ता परियोजनाका समाचार अगाडि नल्याएको भन्दै सञ्चारमाध्यमको आलोचना गर्नुभएको हो । ‘दिनैपिच्छे राजीनामा माग्छन्, दिनैपिच्छे त्यो समाचार छाप्छन् तर मेलम्चीको पानी आएको समाचार छाप्दैनन्,’ ओलीको असन्तुष्टि थियो ।

असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक दलहरूले सडकदेखि सदनसम्म प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आएका छन् । प्रधानमन्त्री ओली भने सर्वोच्चको प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भनेर फैसला आउँदा पनि उक्त कदम सही थियो भनेर जिकिर गर्दै आइरहनुभएको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया