फुस छाना विस्थापन गर्दै स्थानीय सरकार

  चैत २१, २०७७

तुलसीपुर चैत २१ : स्थानीय र संघीय सरकारले सुरक्षित आवास कार्यक्रम अन्र्तगत फुसका छाना विस्थापन कार्य अघि बढाएका छन् । गर्मीयाम बढेसँगै फुसका छाना भएका घरमा आगलागीको बढी जोखिम हुने गरेको छ ।

बबई गाउँपालिकाले कार्यविधि बनाएर फुसका छाना विस्थापित गर्ने कामको शुरुवात् गरेको छ । गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलका अनुसार पहिलो चरणमा २३४ घरमा जस्ता वितरण गरिएको छ भने यसै वर्ष नै ३३७ घरमा जस्ता वितरण गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष पौडेलका अनुसार पालिका भित्र लगत लिदा १३ सय घरमा फुसका छाना रहेछन् बाढीपीडित, दलित, विपन्नवर्गका प्राथमिकतामा वितरण गरिएको छ । पौडेलले भन्नुभयो ‘संघीय सरकारले समेत सुरक्षित आवास कार्यक्रम अघि ल्याएको छ समन्वय गरेर कार्यक्रम अघि बढाइरहेका छौ ।’

दंंगीशरण गाउँपालिकाले संघीय सरकारको सुरक्षित आवास कार्यक्रम अन्तर्गत दुई सय नौ र पालिकाले आफ्नै बजेटमा तीन सय फुसका छाना भएका घरमा जस्ता वितरण गर्न थालेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलका अनुसार वितरणका लागि दलित, विपन्न, अपाङ्गता भएका परिवारलाई प्राथमिकतामा राखेर प्रदान गरिने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाले पाँच वर्षभित्र वडामा रहेका सम्पूर्ण फुसका छाना विस्थापित गर्ने लक्ष्य राखे पनि हालसम्म सात सय १९ घरमा मात्रै जस्ता वितरण गरेको छ । पालिकाभित्र कति फुसका घर छन् भन्ने यकिन तथ्याङ्क समेत छैन ।

शुरुको वर्षमा पाँच सय घरधुरीमा जस्ता वितरण गरेको पालिकाले पछिल्लो समयमा घटाउँदै फुसका छाना विस्थापनका लागि जस्ताको संख्या घटाउदै गएकोे छ । आर्थिक समितिका संयोजक माधव वलीका अनुसार संघीय सरकारको सुरक्षित आवास कार्यक्रम शुरु भएकाले पालिकाबाट जस्ता पाता संख्या वितरणको घटेको बताउनुभयो । पालिकाका पहाडी क्षेत्रका वडाहरु ३, ४ र १९ मा सबैभन्दा बढी फुसका छाना भएका घरको संख्या रहेको छ । दलित, विपन्न समुदायका फुसका खर भएका छाना विस्थापन गर्ने लक्ष्य राखिएको छ ।

तपाईको प्रतिक्रिया