राजमार्ग निर्माणले फेरिँदै गाउँ

  चैत २०, २०७७

सिन्धुलीमाढी, चैत २० : तराईसँग जोडिएको र राजधानी काठमाडौँसँग नजिक रहेको जिल्ला हो, सिन्धुली । यद्यपि लामो समयसम्म यातायात असुविधाका कारण सामाजिक र आर्थिक विकासमा पछाडि परेको सिन्धुली यतिबेला चाहिँ सडक सञ्जालले घेरिएको छ । गाउँगाउँमा सडक र बिजुली बत्ती पुगेसँगै यस जिल्लाले विकासको मुहार फेर्दै छ ।

जापान सरकारको सहयोगमा १९ वर्ष लगाएर १६० किलोमिटरको बनेपा–सिन्धुली–बर्दिबास (बीपी) सडक सम्पन्न भएपछि सिन्धुलीको विकास बामे सरेको हो । चार खण्डमा विभाजन गरी २०५२ सालदेखि निर्माण सुरु गरिएको बीपी राजमार्गको अन्तिम खण्ड खुर्कोट–नेपालथोक ३६.५ किलोमिटर सडक २०७१ सालमा सम्पन्न भएको थियो ।

बागमती प्रदेश सभा सदस्य विनोदकुमार खड्काको बुझाइमा सिन्धुलीका विभिन्न गाउँबस्ती जोड्दै गएका बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्ग सिन्धुलीको विकासका लागि मेरुदण्ड सावित भएका छन् । सिन्धुली जिल्लामा यतिबेला प्रमुख तीन राजमार्गको सञ्जाल फैलिएको छ ।

सदरमुकाम सिन्धुलीमाढीबाट स्थानीय सडकले जिल्लाका सबै गाउँपालिका जोडिएका छन् । तराई र राजधानी काठमाडौँलाई जोड्ने काम सडकमार्फत सिन्धुलीले गरेको छ ।

त्यति मात्र होइन, पूर्वी नेपालका तराई, पहाड र हिमाली जिल्लाको दूरीसमेत काठमाडौँबाट छोट्याएको छ । बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्गले सिन्धुली जिल्लाको सामाजिक र आर्थिक विकासमा महìवपूर्ण भूमिका निर्वाह गरेको बागमती प्रदेश सभा सदस्य प्रदीप कटुवाल बताउनुहुन्छ ।

सिन्धुलीमा सडक पुग्नुअघिका अनगिन्ती दुःख व्यथा यतिबेला गाउँले सम्झन पनि चाहँदैनन् । फिक्कल गाउँपालिका–४, खाङसाङकी सीता बरालले भन्नुभयो, “अहिले त पहिलेको कुरा सम्झिँदा पनि सपनाजस्तै लाग्छ । गाउँबाटै मध्यपहाडी लोकमार्ग बनेपछि जिल्ला सदरमुकाम होस् अथवा जुनसुकै ठाउँमा आउनजान सजिलो भएको छ । गाउँको मुहार नै फेरिएको छ ।”


लोकमार्गले स्थानीयवासीको जीवनस्तरमा परिवर्तन ल्याएको छ । गाउँमा बजार बसेको छ । गाउँका उत्पादन सहर पु-याउन सजिलो भएको छ । सुनकोसी गाउँपालिका–२ का हेमन्त मग्रातीले भन्नुभयो, “गाउँमा खेर जाने अम्रिसोले बजार पाएको छ । दैनिकजसो तरकारी र दूध काठमाडौँ
पठाउँछौँ । विदेश गएका पनि गाउँ फर्किएर खेतीमा जोडिएका छन् ।”

उदयपुरको कटारीदेखि सिन्धुलीहुँदै मकवानपुरको हेटाँैँडासम्म पुरानो कच्ची सडक थियो । त्यहीँबाट मदन भण्डारी राजमार्ग बनेपछि वर्षाको बेलामा पनि सहज यातायात सञ्चालन हुने गरेको दुधौली नगरपालिका–२, हत्पतेका रेखराज दाहालले बताउनुभयो ।


उत्पादन गरेका कृषि, फलफूल, खसी बाख्रा सहजै बजारसम्म पु-याउन सकिने भएपछि गाउँमा कृषि व्यवसाय फस्टाएको छ । राजमार्ग क्षेत्रमा नयाँनयाँ बजार विस्तार हुने क्रम बढेको छ ।

सुनकोसी गाउँपालिका–१ का कमल पौडेलले भन्नुभयो, “जागिर पनि गरेकै छु, ३४ वटा बाख्रा पनि पालेकै छु । मेहनत गर्नेका लागि अहिले गाउँमा धेरै अवसर छन् ।”

दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले राजमार्गले गाउँघरमा आर्थिक क्रियाकलाप बढाएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया