धनगढी, चैत १९ : माघ र फागुनमा अवस्था धेरै हदसम्म सामान्य बनेको सुदूरपश्चिम प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थालेको छ । पछिल्लो समय भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएको छ । रोजगारीको सिलसिलामा भारत पुगेकाहरु फर्किनेक्रम बढेसँगै सुदूरपश्चिममा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको हो ।
उता, कोरोना सङ्क्रमण बढेको बेला सुदूरपश्चिमेलीहरु धमाधम स्वदेश फर्किन थालेका छन् । पछिल्लो समय फेला परेका सङ्क्रमित बढीजसो भारतबाटै फर्केका व्यक्ति रहेका जनाइएको छ ।
बिहीबारसम्म सुदूरपश्चिम प्रदेशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६१ पुगेको प्रादेशिक स्वास्थ्य निर्देशनालय डोटीले जानकारी दिएको छ । प्रदेशको बझाङ र बाजुराबाहेक सबै जिल्लामा फेरि सक्रिय सङ्क्रमित थपिएका छन् ।
कैलालीमा सबैभन्दा बढी ३१ जना, कञ्चनपुरमा १२ जना सक्रिय सङ्क्रमित रहेका निर्देशनालयले जानकारी दिएको छ । यसैगरी, डोटीमा ११, डडेल्धुरामा दुई, बैतडी, अछाम र दार्चुलामा एक÷एक जना सक्रिय सङ्क्रमित छन् । दुई जना सङ्क्रमित अन्य जिल्लाको रहेको जनाइएको छ ।
सुदूरपश्चिममा सक्रिय सङ्क्रमित सङ्ख्या सबैभन्दा कम २१ सम्ममा झरेर अहिले फेरि बढ्न थालेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताउनुभयो । ‘प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा त कहिल्यै पनि झरेन तर, घटेको थियो’, उहाँले भन्नुभयो । ‘भारतबाट काम गरेर फर्किनेहरु बढेपछि अलिकति फेरि सक्रिय सङ्क्रमितको सङ्ख्या बढेको छ ।’
भारतबाट फर्किनेहरुको सबै नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षणको व्यवस्था गरिएको कार्कीले जानकारी दिनुभयो । यसैबीच, गम्भीर समस्या देखिएका कोरोना सङ्क्रमित तीन जनालाई सेती प्रादेशिक अस्पतालको आइसीयुमा राखेर उपचार गर्ने कार्य भइरहेको छ । दुईजना भने आइसोलेसनमा रहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सुदूरपश्चिममा हालसम्म एक लाख ३७ हजार ९४४ जनाको पीसीआर विधिबाट स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये १४ हजार ११५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमणपछि यो प्रदेशमा हालसम्म ५६ जनाको ज्यान गएको छ ।






