सर्वोच्चका लागि प्रस्तावित दुई न्यायाधीशविरुद्ध सात उजुरी

  चैत १९, २०७७

काठमाडौँ, चैत १९ : प्रतिनिधिसभा संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित न्यायाधीशद्वय डा. कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध सातवटा उजुरी परेको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय डा. चुडाल र सुवेदीविरुद्ध सातवटा उजुरी परेको जानकारी दिनुभयो । उहाँका अनुसार सात उजुरीमध्ये दुई उजुरी गोप्य छन् ।

न्याय परिषद्ले सर्वोच्च अदालतका लागि न्यायाधीशद्वय डा. चुडाल र सुवेदीको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले उहाँहरुविरुद्ध कुनै उजुरी भएमा १० दिनका लागि उजुरी आह्वान गर्न समय दिएको थियो । 

उक्त १० दिन आज पूरा भएको छ । बैठकले उहाँहरुको उजुरी यही चैत २२ गते खोल्ने र उजुरीकर्ताको सुनुवाइ गर्ने समय तय गरेको छ भने यही चैत २५ गते प्रस्तावित दुवै न्यायाधीशको सुनुवाइ गर्ने तय गरेको छ । न्याय परिषद्ले गरेको सिफारिसमा संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्ने संवैधानिक व्यवस्था छ । सोहीअनुसार डा. चुडाल र सुवेदीको सुनुवाइ प्रक्रिया अगाडि बढिरहेको छ ।

तपाईको प्रतिक्रिया