हुलाकी राजमार्ग : कानेपोखरी-रङ्गेली खण्ड २५ किमी निर्माण सम्पन्न, समुदायमा हस्तान्तरण

  चैत १८, २०७७

उर्लाबारी, चैत १८ : निर्माण कम्पनीले हुलाकी राजमार्ग अन्तर्गतको मोरङको कानेपोखरी– रंगेली हुलाकी राजमार्ग आज समुदायलाई हस्तान्तरण गरेको छ । सडकको औपचारिक उद्घाटन भएपछि सो क्षेत्रमा आधा दशकदेखि बस्दै आएका उपभोक्तामा खुसी छाएको छ । यो सडक पूर्व पश्चिम राजमार्ग र विराटनगर–रङ्गेली–आमबारी सडकलाई जोड्ने जिल्ला कै सबैभन्दा पुरानो सडक हो ।

२५ दशमलव ४० किमी लम्बाईको यस सडकलाई जिल्लाको पहिलो हुलाकी सडक नाम दिइएको छ । सडक बनेपछि उत्तरी मोरङको लेटाङलाई भारतको चोर्पाहासँग सडक सञ्जालले सीधा जोडेको छ । पञ्चायत कालदेखि नै कालोपत्रे हुने सूचीमा पर्दै आएको कानेपोखरी–रङ्गेली सडक पटक पटक ठेक्का लागेर पनि निर्माण कम्पनी आधा काम गर्दै भाग्न थालेपछि स्थानीय उपभोक्ताले सडक कालोपत्रे हुने कुरा पत्याएका थिएनन् ।

पछिल्लो पटक २०११ को मार्चमा भारतीय निर्माण कम्पनी जिभिआर इन्फ्राप्रोजेक्ट लि. चेन्नइले सडक निर्माण सुरु गर्दा स्थानीय खुशीले फुरुङ्ग भएका थिए । २०१३ को अगस्टमा नेपाल सरकारलाई सडक जिम्मा लगाउने सम्झौता गरेको जीभिआरले १८ महिना पछि काम छोडेर भागेपछि कानेपोखरी – रङ्गेली क्षेत्रका वासिन्दाको कालोपत्रे सडकको सपना पानीको फोका बनेको थियो ।

भारतीय कम्पनी काम छोडेर भागेको चार वर्षपछि २०७४ असार ६ गते नेपाली निर्माण कम्पनी लामा, डाँफे ,द कन्चनजंघा कन्ट्रक्सन प्रालिले सडक कालोपत्रे गर्ने ठेक्का पाएको थियो । यस कम्पनीले पनि २०७६ को असार ५ गते यो सडक कालोपत्रे गरेर हुलाकी सडक आयोजनालाई जिम्मा लगाउने सम्झौता भएको थियो । तर, निर्माण सामग्री आपूर्ति गर्न र त्यसपछि कोभिडका कारण काम गर्न ढिलाइ भएपछि तोकिएको समय भन्दा २१ महिनापछि आज सडक हस्तान्तरण गरेको हो ।

सुरुमा राष्ट्रिय गौरवको कार्यक्रम अन्तर्गत नेपालको तराई क्षेत्रमा ६०५ किलोमिटर सडक कालोपत्रे गर्ने कार्यक्रम  थियो । जसको लागत मूल्य एक हजार २४१ करोड नेपाली रुपियाँ  थियो । तर ६०५ किलोमिटर सडक मध्ये अधिकांश सडक कालोपत्रे गर्ने कार्य सम्पन्न नगरी निर्माण कम्पनी भागेपछि हुलाकी सडकहरू जीर्ण भएका थिए ।

सडक भारतीय सरकारको ७० करोड २४ लाख ३१ हजार ६७९ रुपियाँ सहयोगमा बनेको हो । निर्माण कम्पनी कन्चनजङ्घा निर्माण सेवाका सञ्चालक टेण्डी शेर्पाले ९९ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । केही स्थानमा ड्रेनमाथि स्ल्याब राख्ने र माइल स्तम्भ राख्ने बाहेक सबै काम सकिएको शेर्पाले बताउनुभयो ।

सडकको उद्घाटन गर्दै कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले सडक कालोपत्रे बनेपछि स्थानीय उपभोक्ताको दैनिकी परिवर्तन भएको बताउनुभयो । ब्यापार ब्यवसाय मात्र होइन, जग्गा जमीनको मूल्य बढेको छ ।सडकले आर्थिक समृद्धिमा पनि महत्वपूर्ण योगदान गरेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया