लमजुङमा तीन दिनमा १७० हेक्टर वनमा आगलागी

  चैत १६, २०७७

लमजुङ, चैत १६ : लमजुङमा तीन दिनको अवधिमा करिव २०० हेक्टर वनमा आगलागी भएको छ । बेंसीशहर नगरपालिका २ भकुण्डे, चिसापानी, नरुवल, वडा नं. ९ को विम्दाबेंसी, बेंसीशहर नगरपालिका ३ गाउँशहरलगायतको क्षेत्रमा भीषण आगालागी भएको हो ।

डिभिजन वन कार्यालय लमजुङका अनुसार बेंसीशहर नगरपालिका २ भकुण्डेको सूर्यमुखी बास्तले सामुदायिक वन, वडा नं. २ कै चिसापानीको जैरेनी पातल सामुदायिक वन, जग्रेनी सामुदायिक वन नरुवल पाखाथोक, बेंसीशहर नगरपालिका ९ विम्दाबेंसीको मुलाबारी सामुदायिक वन, वडा नं. ३ गाउँशहरको पालेको वन सामुदायिक वन क्षेत्रमा आगलागी भएको हो ।

सव डिभिजन वन कार्यालय बेंसीशहरका इन्चार्ज प्रगति शर्माका अनुसार शुक्रबार, शनिबार र आइतबार गरी तीन दिन विभिन्न स्थानमा आगलागी भएको छ । आगलागीबाट १७० हेक्टर वन क्षेत्रमा नोक्सानी पु¥याएको छ । शुक्रबार बिहानदेखि बेंसीशहर नगरपालिका २ चिसापानीको जैरेनी पातल सामुदायिक वन र २ को जग्रेनी सामुदायिक वन नरुवल पाखाथोकमा आगलागी भएको थियो । शुक्रबार दिउँसो स्थानीयले आगो नियन्त्रणको प्रयास गरे पनि नसकिएपछि शनिबार पुनः नेपाल प्रहरी, शसस्त्र प्रहरी, डिभिजन वन कार्यालयका कर्मचारी, स्थानीय खटिएका थिए ।

उनीहरुले प्रयास गरे पनि शनिबारसम्म पनि आगो नियन्त्रण गर्न नसकिएको र आइतबार बिहान मात्र आगो नियन्त्रणमा आएको शर्माले बताउनुभयो । डिभिजन वन कार्यालयले नेपाली सेना, प्रहरीलाई उपलब्ध गराएको अग्नी नियन्त्रण सामाग्री प्रयोग गरेर, कन्ट्रोल फायर लाइन बनाएर नियन्त्रणमा आएको बताउनुभयो । स्थानीयका अनुसार उक्त आगो सुन्दरबजार नगरपालिका ५ को खरीभञ्ज्याङबाट आएको स्थानीयले बताएका छन् । उक्त दुईटा बनमा गरी करिव १०० हेक्टर वनमा नोक्सानी भएको छ । ठूलाठूला रुखलाई त्यति क्षति नगरे पनि बुट्यानहरु, ढलेका मुढाहरु, साना चराचुरुगींमा नोक्सान पुगको सब डिभिजन वन कार्यालय बेंसीशहरले जनाएको छ ।
यस्तै, शुक्रबार नै बेंसीशहर नगरपालिका २ को भकुण्डेस्थित सूर्यमुखी वास्तले सामुदायिक वनमा आगालागी भएको छ ।

वनमा पूजा गर्ने क्रममा आगो बालेको र आगो शल्किएर बनमा फैलिएको बुझिएको छ । आगलागीबाट करिब १० हेक्टर वनमा क्षति पुगेको र वनमा आगो लगाउनेलाई कारबाही गरिने स्थानीयले बताएको सव डिभिजन बन कार्यालयल बेंसीशहरले जनाएको छ ।

यस्तै, सोही दिनमा बेंसीशहर नगरपालिका ९ विम्दाबेंसीको मुलाबारी सामुदायिक वनमा आगलागी भएको छ । करिब ५० हेक्टर बनमा क्षति भएको छ । आगो नियन्त्रणका लागि नेपाली, सेना, प्रहरी, स्थानीय खटिएका थिए । आगालागी कसरी भयो भन्ने बारेमा स्थानीयले खोजतलास गर्दै गरेको बताएका छन् ।

यस्तै, शनिबार बेंसीशहर नगरपालिका ३ गाउँशहरको पालेको बन सामुदायिक वनमा आगलागी भएको छ । करिब ७ हेक्टर बन नोक्सानी भएको स्थानीयले बताएका छन् । बनमा आगाो लगाउनेको खोजतलास गरी कारबाही गरिने सामुदायिक वनहरुले बताएका छन् । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

तपाईको प्रतिक्रिया