काठमाडौँ, चैत १५ : नेपाली पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको केन्द्रीय पदाधिकारीका लागि नयाँ नेतृत्व चयन गर्ने प्रयोजनका लागि शनिबार उम्मेदवारी दर्ता भएको छ ।महासङ्घको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी दर्ताको जानकारी महासङ्घको निर्वाचन समितिका सदस्यसचिव भक्ति घिमिरेले दिनुभयो ।
अध्यक्ष पदमा रामप्रसाद दाहाल, निर्मला शर्मा, दीपक पाठक, गजेन्द्रसिंह बुढाथोकी र विपुल पोखरेलले मनोनयन पत्र दर्ता गराउनुभएको छ । महासङ्घको लामो इतिहासमा पहिलो पटक प्रत्यक्ष मतदानबाट नेतृत्व चयन हुँदैछ । केन्द्र, प्रदेश, जिल्लादेखि प्रतिष्ठानसम्म प्रत्यक्ष मतदान प्रणालीबाट निर्वाचन हुन लागेको हो ।
यसैगरी महासचिवमा राजेश मिश्र, रोशन पुरी र बालकृष्ण बस्नेतले उम्मेदवारी दिनुभएको छ । गोरखापत्र संस्थान केन्द्रीय कार्यालयमा कार्यरत पत्रकारहरू रामप्रसाद दाहाल अध्यक्षमा, केन्द्रीय सदस्य पदमा क्रमशः देवबहादुर कुँवर (खुला), भउचप्रसाद यादव (मधेसी), लक्ष्मण दर्नाल (दलित) समूहबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै एसोसिएटतर्फ सचिव पदमा केशव खनाल र लेखा समिति सदस्यमा मन्जिमा ढकालको उम्मेदवारी परेको छ । यही चैत २५ गते मतदान हुने कार्यक्रम छ ।
सबै पदमा गरी करिब दुई सय जनाको उम्मेदवारी दर्ता भएको छ । सबैभन्दा बढी केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता भएको छ । यस पटकको निर्वाचनमा करिब १३ हजार पत्रकार मतदानमा सहभागी हुँदैछन् ।






