सिन्धुपाल्चोक, चैत १५ : स्थानीय तहमा जनप्रतिनिधि आएपछि सिन्धुपाल्चोकका १२ वटा नै स्थानीय तहका ग्रामीण सडकहरुको स्त्तरोन्नति हुन थालेको छ । ग्रामीण सडकहरुमा कालोपत्रे, ग्राभेल, चौडा बनाउने, नाला लगायतमा सुधार हुन थालेका छन् । सडकको स्त्तरोन्नति हुन थालेपछि गाँउ गाँउका जनताले बिकासको अनुभूति गर्न थालेका छन् । चौतारा साँगचोकगढी नगरपालिकाको जल्केनीबाट ठूलोसिरुवारी जाने १० किलोमिटर ग्रामीण सडक कालाेपत्रे हुन थालेपछि ग्रामीण क्षेत्रका स्थानीय हर्षित भएका छन् ।
त्रिपुरासुन्दरी गाँउपालिकाबाट टेकानपुर जोड्ने ग्रामीण सडक ग्राभेल हालिएपछि यातयातका साधान सहज रुपमा चल्न थालेका छन् । सुनकोशी गाँउपालिका ४ को भैंसे यमुना डाँडा सुनखानी ग्रामीण सडक चौँडा र नाला खन्ने क्रमले गति लिएको छ । सोही वडाको मौवारुख बाघखोर कात्तिके सडक अन्तर्गतको कोल्दुङधार ग्रामीण सडक ग्राभेल हुन थालेको छ । सो वडाका स्थानीय अधिराज कुमार बस्नेतले सो सडकमा ग्राभेल हाल्न थालिएपछि गाँउमा सडक आवतजावत सहज हुने जानकारी दिनुभयो । जनप्रतिनिधि चुनिएर आएपछि विकासको महसुस हन थालेको उहाँले खुशी ब्यक्त गर्नुभयो ।
त्यस्तै सानुसिरुवारीबाट चौतारा सदरमुकाम जोड्ने ग्रामीण सडकमा ढलान हालेर सडकको स्त्तरोन्नति गर्न थालेपछि गाँउको बिकास आएको स्थानीय समाजसेवी इन्द्रलोचन धितालले हर्ष ब्यक्त गर्नुभयो । सुकुटेबाट ठोकर्पा जोड्ने सडक चौडा भई पाँच किलोमिटर भन्दा बढी सडक ढलान हालिएको छ । सो सडकमा सवारी साधान सहजरुपमा आउजाउ गर्न थालेका छन् ।
बलेफी गाँउपालिकाका नौबिसेबाट सदरमुकाम जोडने कुबिण्डे सडकमा चार कलिोमिटर बढी सडक कालोपत्रे भएको छ । सो सडकमा कालोपत्रे गर्ने कार्य धमाधम हुने भएको छ । चौतारा साँगचोकगढी नगरपालिकाका प्रमुख अमानसिहं तामाङले नगरपालिकाले ग्रामीण सडकको स्तरबद्धिलाई प्राथमिकता दिएर काम गर्न थालेको जानकारी दिनुभयो ।
सुनकोशी गाँउपालिकाका अध्यक्ष श्रवण कुमार जिसीले गाउँपालिकाले प्रत्येक बर्ष सडक निमार्ण, स्त्तरोन्नतिलाई बिशेष प्राथमिकता राखेको बताउनु भयो । उहाँका अनुसार अहिले सुनकोशी गाँउपालिकाका ग्रामीण सडकमा १२ महिना नै सहज रुपमा यातयातका साधान संचालन भइरहेको छ ।
सडक डिभिजन कार्यालयका अनुसार सिन्धुपाल्चोकमा राजमार्ग, ग्रामीण सडक, कृषि सडक गरि दुई हजार २ सय किलोमिटर सडक रहेका छन् । सोमध्ये दुई सय सडक कालोपत्रे, पाँच सय किलोमिटर ग्राभेल र अन्य धूले सडक रहेको छ । ती मध्य मुस्किलले चार सय किलोमिटर सडकमा मात्र १२ महिना सडक सञ्चालन हुने गरेका छन् ।






