राजधानीवासीको मेलम्ची सपना : आजदेखि घरघरमा पानी

  चैत १५, २०७७

काठमाडौँ, चैत १५ : लामो समयदेखि काठमाडौँ उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी आजदेखि उपभोक्ताको घरघरमा पुग्दै छ । गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी शुक्रबारदेखि विभिन्न स्थानमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो । तिनै वितरण केन्द्रमा सङ्कलन गरिएको पानी आइतबारदेखि उपभोक्ताको घरमा पठाइने भएको हो ।

उपत्काका सीमित ठाउँमा मात्रै अहिले पानी आउन थाल्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले जनाएको छ । पहिलो चरणमा पुरानो महाँकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी आउने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो । उहाँका अनुसार खुमलटारमा नयाँ पोखरी र अरु तीन स्थानमा पुरानो पोखरी रहेका छन् । अहिले कतिपय सञ्चारमाध्यमले एकैपटक सबैतिर र ठूलो परिमाणमा पानी आउने भने पनि त्यो सत्य नभएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिलो चरणमा केही स्थानमा मात्रै र थोरै पानी आउनेछ, विस्तारै क्षेत्र र परिमाण दुवैलाई बढाउँदै लगिनेछ ।”

पहिलो चरणमा चार ठाउँमा गएपछि सुन्दरीजलबाट पानी दोस्रो चरणमा बालाजु पोखरीमा पठाइने लिमिटेडको तयारी छ । त्यसपछिको चरणमा महाराजगञ्ज र पानीपोखरी र बाँसबारी पोखरीमा पठाइने छ । अहिले पहिलो चरणमा दैनिक चार करोड लिटर पानी वितरण भए पनि विस्तारै दैनिक साढे छ करोड लिटर पानी भित्रिने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । उपत्यकामा पाइपको अवस्था हेरेर दैनिक साढे आठ करोड लिटर पानी आउनेछ ।

अहिले एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोडसम्म पानी आउनेछ । अर्काे प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर पनि ल्याउन सकिने उहाँले बताउनुभयो । दुवै प्रशोधन केन्द्रमा दैनिक साढे आठ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिनेछ । उहाँले भन्नुभयो, “त्यसका लागि अझै केही हप्ता लाग्न सक्छ ।”

आजबाट तोकिएका चार पोखरीमा पानी भर्ने भनिए पनि बीचमा पाइपमा समस्या आएमा नपठाउन पनि सकिने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । परीक्षण ठीक भएको पाइएमा मात्रै नियमितरूपमा पानी पोखरी हुँदै घरघरका धारासम्म पुग्नेछ । कुन स्थानमा पानी जाने कता नजाने र कुन–कुन समयमा पानी आउने भनी सम्बन्धित शाखाले आ–आफ्नो फेसबुक पेजमा राखिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ग्राहकले आ–आफ्नो शाखामा सम्पर्क गरेर पनि बुभ्mन सक्नुहुन्छ ।”

मेलम्ची खानेपानी आयोजनाले शुक्रबार सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षणका लागि पानी पठाएको थियो । लिमिटेडले पानीको परिमाण बढ्दा चुहावट बढ्न सक्ने भएकाले त्यसको समेत तयारी गरेको छ । समस्या आउनासाथ सो स्थलमा पुग्नका लागि तयारी अवस्थामा एउटा समूह राखिएको शाक्यले जानकारी दिनुभयो । कुनै पनि ठाउँमा चुहावट हुँदा तत्काल मर्मतका लागि निर्माण व्यवसायी र आवश्यक सामग्री तयारी गरिएको छ । उहाँले भन्नुभयो, “हामीले सकेसम्म समस्या नआउने गरी वितरण गर्ने तयारी गरेका छौँ, आइहालेमा तुरुन्त समाधान हुनेछ ।”

मेलम्ची खानेपानी आयोजनाले गत फागुन १० गते पानी परीक्षणका लागि सुरुङमा पठाएका थियो । त्यसको दुई सातापछि शनिबार पानी सुन्दरीजलसम्म आइपुगेको थियो । पछिल्लो समयमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम सम्पन्न गरेको हो । राष्ट्रिय गौरवको आयोजना निर्माणले दुर्ई वर्षयता गति लिएको थियो ।

विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता गरेको थियो । पछिल्लोपटक काम गरेको इटालेली कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिकरूपमा टाट पल्टेर कम्पनी फिर्ता भयो । केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । खानेपानी मन्त्रालयले पटक–पटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो । पछिल्लोपटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको राससले जनाएको छ ।

संरचना परीक्षण गरिँदै
यो आयोजनाको काम सम्पन्न भइसकेको छैन । पानीको मुहान मेलम्ची खोलामा ‘हेडवक्र्स’ निर्माण भइरहेको छ । अस्थायी विकल्प प्रयोग गरी पानी पथान्तरण गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले भन्नुभयो “अहिले सबैतिर परीक्षण हुन्छ, पानी पठाउँछौँ, वर्षात्मा हामी सुरुङको परीक्षण गर्छौं, प्राविधिकको सल्लाहले नै अहिले पानी वितरण गर्न लागिएको हो ।” हाल पानी प्रशोधन केन्द्र, पाइपलाइन, वितरण केन्द्र (ट्याङ्की) परीक्षणका लागि पानी वितरण गरिएको समितिले जनाएको छ ।

अधिकांश निर्माण पूरा
मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना निर्देशनालयले उपत्यकामा एक हजार १० किलोमिटर पाइपलाइन निर्माण गर्नुपर्नेमा ९८० किलोमिटर सम्पन्न गरेको छ । थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५.५ किलोमिटर सम्पन्न भइसकेको छ । पानी वितरणका लागि उपत्यकामा १० वटा वितरण केन्द्र (ट्याङ्की)मध्ये एउटा भक्तपुर कटुञ्जेको ट्याङ्कीबाहेक नौवटा सम्पन्न भइसकेका छन् ।

यी १० वटै केन्द्र (पोखरी)मा ७४ हजार पाँच सय घनमिटर पानी सङ्कलन हुन्छ । भल्ब च्याम्बर एकदेखि चारसम्मका प्याकेजमा २२२ मध्ये २१० वटा निर्माण भइसकेका छन् । निर्देशनालयले एक लाख दुई हजार ५७४ धारा जडान गर्नुपर्नेमा हालसम्म ७५ हजार धारा जडान गरिसकेको छ । पानी प्रशोधन गर्न करिब छ अर्ब २९ करोड रुपियाँको लगानीमा प्रशोधन केन्द्र निर्माण भइरहेका छन् । आयोजना निर्देशनालयले पाँचवटा प्रशोधन केन्द्रमध्ये एउटा सम्पन्न गरेको छ । बाँकी चारवटाको काम आधा भएको छ ।

खानेपानी अझै अपुुग
काठमाडौँ उपत्यकामा हाल दैनिक ४३ करोड लिटर खानेपानी माग रहेकोमा ३१ करोड लिटर अपुुग छ । केयूूकेएलले दैनिक आठ करोड लिटर मात्रै वितरण गर्न सकेको छ भने निजी क्षेत्रले दैनिक करिब चार करोड लिटर वितरण गर्दै आएको छ । मेलम्ची खोलाको पानी पहिलो चरणमा दैनिक १७ करोड लिटर आएपछि केयूकेएलको क्षमता दैनिक २९ करोड लिटर पुग्ने छ । मेलम्चीको दोस्रो चरणको आयोजना सम्पन्न भएपछि काठमाडौंँ उपत्यकामा पर्याप्त खानेपानी हुने छ ।

थप ३४ करोड लिटर आउने
मेलम्ची खानेपानी आयोजनाकै दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पानी उपत्यकामा भिœयाउने लक्ष्य छ । दोस्रो चरणमा लोर्के खोलाको १७ करोड लिटर र याङ्ग्री खोलाको १७ करोड लिटर पानी अहिले निर्माण भएका संरचनाबाटै उपत्यका भित्र्याएपछि भने दैनिक आपूर्ति ५१ करोड लिटर पुग्ने छ । त्यसपछि उपत्यकामा खानेपानीको समस्या हल हुने अपेक्षा गरिएको छ ।

याङ्ग्री र लार्के खोलाको पानी थप नौ किलोमिटर सुरुङ निर्माण गरी मेलम्चीको सुरुङ मार्गमा मिसाइने छ । २६ अर्ब रुपियाँ लागत अनुमान गरिएको यो दोस्रो आयोजना सम्पन्न गर्न तीन वर्ष लाग्ने छ तर अहिलेसम्म स्रोत सुनिश्चित हुन सकेको छैन । समितिका कार्यकारी निर्देशक खत्रीले भन्नुभयो, “दोस्रो आयोजनाका लागि अध्ययन भएको छ, मुआब्जालगायतका काम पनि भएका छन्, स्रोत जुटेको छैन ।”

पहिलो चरणमा चक्रपथभित्र पानी वितरण गरिने र दोस्रो चरणको वितरण प्रणाली चक्रपथबाहिरको क्षेत्रमा हुनेछ । चक्रपथबाहिरको क्षेत्रलाई याङ्ग्री र लार्के खोलाको पानी थप हुँदासम्म पाइपलाइन विस्तार भइसक्ने उहाँले बताउनुभयो ।

मेलम्चीलाई फर्केर हेर्दा
काठमाडौँ उपत्यकामा खानेपानी वितरणका लागि २०२८ देखि पानीका सम्भाव्य स्रोतको पहिचानका लागि अध्ययन कार्य थालिएकोमा २०४० सालमा भएको अध्ययनले उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेलम्ची, याङ्ग्री र लार्के नै भनी निष्कर्ष निकाली प्रक्रिया अगाडि बढाइएको थियो ।

मेलम्चीको पानी काठमाडौँ ल्याउने अवधारणालाई कार्यान्वयनमै ल्याउन २०४८ मा पुनः अध्ययन भयो । विसं २०५४ मा मेलम्ची खानेपानी विकास समिति गठन गरी विभिन्न विकल्पबारे गरिएको अध्ययनले मेलम्ची नदी नै उत्तम विकल्प हो भन्ने निष्कर्ष निकालेर २०५६ देखि यसको विस्तृत डिजाइनको काम सुरु गरी २०५८ मा सम्पन्न भएको थियो । डिजाइनको काम सम्पन्न भए पनि २०६३ सम्मको समय यसको प्रारम्भिक तयारीमा बितेको थियो ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार यस अवधिमा पहुँचमार्ग निर्माण, वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए) तयार, जग्गा अधिग्रहण, मुआब्जा तथा क्षतिपूर्ति वितरणको काम भएको थियो । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले विभिन्न सन्दर्भमा मेलम्चीको पानीलाई काठमाडौँ उपत्यकामा ल्याउनुपर्ने चर्चा गर्नुभएको थियो । कामलाई तीव्रता दिन २०६४ मा आयोजनालाई दुई भागमा विभाजन गरी काम अगाडि बढाइएको थियो ।

आर्थिक वर्ष २०६५-६६ मा मात्रै सुरुङमार्ग निर्माणका लागि प्रक्रिया सुरु भयो । विसं २०६६ मा चिनियाँ कम्पनी चाइना रेलवे कर्पोेरेसनले सुरुङमार्ग निर्माणको ठेक्का पाए पनि उसले सुरुङ निर्माणका लागि साढे तीन वर्ष काम ग¥यो । यसले काममा ढिलाइ गरेपछि ठेक्का नै रद्द गरियो ।

सुरुङ निर्माणको बाँकी काम गर्न २०७१ सालमा इटालीको कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्स्ट्री (सीएमसी)सँग ठेक्का सम्झौता भयो । विसं २०७२ वैशाखको विनाशकारी भूकम्पले आयोजनाको काम प्रभावित भएपछि दुई वर्ष मेलम्चीको कामले गति लिन सकेन ।

सुरुङ निर्माण २०७४ चैत २७ मा सीएमसीले पूरा ग-यो । सुरुङ फिनिसिङ, हेडवक्र्सलगायतका काम अगाडि बढाउन नपाउँदै सीएमसीले २०७५ पुसमा आयोजनाबाट हात झिकेपछि सरकारले सो कम्पनीसँगको ठेक्का रद्द ग-यो । त्यसपछि सुरुङमार्ग, हेडवक्र्स र फिनिसिङलगायतका काम सम्पन्न गर्न चीनको सिनो हाइड्रो कर्पोरेसनसँग गत २०७६ असोजमा ठेक्का सम्झौता भई काम अगाडि बढ्यो ।

एक वर्षभित्र सुरुङमार्गको फिनिसिङ र हेडवक्र्सको काम सक्ने गरी सम्झौता भए पनि कोरोना महामारीले काम प्रभावित हुन पुग्यो । कोरोना महामारीपूर्व नै सिनो हाइड्रोले निर्माणलाई तीव्रता दिएकाले सम्झौताको पाँच महिना ढिला गरी आयोजना निर्माण सम्पन्न हुँदै छ ।

मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने पहिलो राष्ट्रिय गौरवको आयोजना बन्ने भएको छ । मेलम्ची खानेपानी आयोजना २०५५-५६ मा सुरु भई २०७०-७१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर विभिन्न व्यवधानले यो आयोजनाको काममा ढिलाइ भएपछि पछिल्लो पटक आव २०७७-७८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

आयोजनाको दोस्रो चरण भने २०८०-८१ सम्ममा सम्पन्न गर्ने लक्ष्य छ । सुरुमा २४ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएकोमा समय बढ्दै गएपछि खर्च पनि बढ्यो । यो आयोजनाको अहिलेसम्मको खर्च ३१ अर्ब ३६ करोड रुपियाँ पुगेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया