काठमाडौं, चैत १२ : सभामुख अग्निप्रसाद सापकोटासँग पाकिस्तानी राजदूत शायद हैदर शाहले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत शाहलाई सफल कार्यकालको शुभकामना दिनुभयो ।
सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६१ बर्ष लामो कूटनीतिक सम्बन्ध रहेको र सम्बन्धमा कहिल्यै तिक्तता नआएको बताउनुभएको उहाँको प्रेस विज्ञ श्रीधर न्यौपानेले बताउनुभयो । दुई देशका जनताबीचको सम्बन्ध अझ पुरानो रहेको सभामुख सापकोटाले चर्चा गर्नुभयो ।
निर्मल पूर्जामगर नेतृत्वको नेपाली हिमाल आरोहिहरुले यसै बर्ष पाकिस्तानको केटु हिमाल आरोहणमा प्राप्त गरेको ऐतिहासिक सफलतापछि पाकिस्तानका प्रधानमन्त्री, सेना प्रमुख लगायतले गर्नुभएको न्यानो स्वागत र हौसालाकानिम्ति उहाँले आभार व्यक्त गर्नुभयो ।
संघीय संसदमा नेपाल–पाकिस्तान संसदीयमैत्री समूह रहेको जानकारी गराउँदै सभामुख सापकोटाले संसद–संसदबीचको सम्बन्धलाई थप सुदृढिकरण गर्दै अघि बढ्न सकिने बताउनुभयो । उहाँले दुई देशबीच कृषि, हाइड्रोपावर, पर्यटन, सूचना–प्रविधि लगायतका क्षेत्रमा सहकार्य गर्न सकिने बताउनुभयो ।
भेटका क्रममा राजदूत शाहले दुई देशबीचको औपचारिक सम्बन्धले छ दशक पार गरेको बताउनुहुँदै नता–जनताबीच लामो ऐतिहासिक र साँस्कृतिक सम्बन्ध रहेको चर्चा गर्नुभयो । आफ्नो कार्यकालमा नेपालमा व्यापार लगायतका क्षेत्रमा सहकार्यका लागि गुणात्मक पहल गर्ने प्रतिवद्धता पनि उहाँले जनाउनुभयो । पर्वतारोहण, जलविद्युत लगायतका क्षेत्रमा सहकार्यका सम्भावना खोज्न पहल गर्ने उहाँको प्रतिवद्धता जनाउनुभयो ।
राजदूत शाहले नेपाली नेतृत्वले दक्षिण एशियाली सहयोग संगठन सार्कको स्थापनाकालदेखि नै अबलम्बन गरिरहेका विषय प्रशंसनीय रहेको चर्चा गर्दै सार्कका माध्यमबाट बहुपक्षीय सम्बन्धका साथै क्षेत्रीय शान्ति र सम्बृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।






