पार्टी मोडालिटीबारे छलफलमा छौँ : प्रचण्ड

  चैत ११, २०७७

बनेपा, चैत ११ : नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने बारेमा छलफल अघि बढेको बताउनुभएको छ । धुलिखेलमा आयोजित नेपाल राष्ट्रिय व्यापार सङ्गठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई परिमार्जित गर्दै अघि बढ्ने विषयमा विभिन्न मोडालिटिका बारेमा छलफल भइरहेको बताउनुभयो ।

उहाँले एकतापूर्वको माओवादी केन्द्रको संरचनालाई जस्ताको त्यस्तै पुर्नजिवित गर्ने, एकता प्रक्रियामा खडा गरेको नयाँ संरचनालाई आत्मसात गर्दै त्यसलाई परिमार्जन गर्दै स्ुदृढ गरेर लैजाने वा अर्को कुनै मोडालिटिको खोजी गर्ने भन्ने विषयमा केन्द्रीय समितिमा छलफलमा भईरहेको बताउनुभयो । अध्यक्ष दाहालले माओवादी केन्द्र र नेकपा एमालेबीच एकता हुँदा अवलम्बन गरिएको केन्द्रीय समिति बनाउने व्यवस्थालाई टेकेर अगाडि बढ्ने भन्ने बारेमा छलफल गर्न केन्द्रीय समितिको बैठकमा भएको बताउनुभयो ।

उहाँले एकताको अन्तिम चरणमा रहेको बेलामा माओवादी केन्द्र र नेकपा एमालेलाई एकता पूर्वको अवस्थामा पु-याएको बताउँदै अब पार्टीलाई कसरी अघि बढाउँदा मजबुत बनाउन सकिन्छ भन्ने बारेमा पार्टीका भातृ सङ्गठन, जनवर्गिय सङ्गठन र सहयोगी संस्थाहरुसँग सुझावको अपेक्षा समेत गरिएको बताउनुभयो । अध्यक्ष दाहालले संसद पुनस्र्थापना गर्दा वर्तमान सरकारलाई ७६ (१) को सरकार भनेर घोषणा गरेको र त्यही अदालतका दुई न्यायाधिशको इजलाशले ७६(२) को सरकार बनाइदिएको भन्दै यो स्वभाविक नभई अस्वभाविक ढङ्गले निर्णय भएको भन्दै त्यसमा आफुहरु गम्भिर र सर्तक रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले राज्य र नीजि क्षेत्रबीच लामो समयदेखि एक अर्कालाई बिरोधीको रुपमा नकरात्मक रुपले हेरेको बताउँदै यी दुवै निकाय एक अर्काका सहयोगी हुनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय पुँजीको विकास गर्ने, रोजगारीको श्रृजना गर्ने, व्यापार विविधिकरण गरी आत्मनिर्भर अर्थतन्त्र जगेर्ना गर्न नीजि क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले अदालतको गलत निर्णयपछि पुनः माओवादी केन्द्रलाई पुर्नगठिन गर्ने काम अघि बढाएको बताउनुभयो । उहाँले पार्टीलाई कसरी पुर्नगठित र कसरी लैजाने भन्ने प्रश्न उठिरहेको बताउनुभयो । उहाँले पछिल्लो समय नेपालको कम्यूनिष्ट आन्दोलनमा ठुलो सङ्कट पैदा भएको बताउँदै संकटलाई निराशातर्फ भन्दा पनि चुनौतीको रुपमा लिएर अघि बढ्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया