अफगानिस्तानका राष्ट्रपति र अमेरिकी रक्षामन्त्रीबीच काबुलमा भेटवार्ता

  चैत ०९, २०७७

काबुल, चैत ९ : अफगानिस्तानका राष्ट्रपति असरफ घानी र अमेरिकी रक्षामन्त्री लियोड अस्टिनबीच आइतबार अफगानिस्तानको राजधानी काबुलमा भेटवार्ता भएको बताइएको छ ।

उहाँहरुबीच त्यस भेटका क्रममा अफगानिस्तानमा अशान्ति मच्चाइरहेका तालिबानहरुका विषयमा कुराकानी भएको थियो । तालिबानहरुसँग शान्ति वार्ता गर्ने विषयमा पनि सो कुराकानी भएको बताइएको छ ।

सो वार्ताका क्रममा अफगानिस्तानका राष्ट्रपति घानी र अमेरिकी रक्षामन्त्री अस्टिनले अफगानिस्तानमा ताबिलानहरुले गरिरहेका हिंसाका बारेमा चिन्ता व्यक्त गर्नुभएको थियो ।

अमेरिकी रक्षामन्त्री अस्टिन आइतबार बिहान अफगानिस्तान पुग्नुभएको थियो । उहाँले सो वार्ताका क्रममा अमेरिका अफगानिस्तानको सरकार र तालिबानका बीचमा शान्तिवार्ताका लागि सहजीकरण गर्ने काममा तयार रहेको धारणा राख्नुभएको थियो ।

अफगानिस्तानको सरकार र तालिबानका बीचमा गतवर्षदेखि नै शान्तिवार्ता शुरु भएको भनिएको भए पनि अहिले त्यसले निरन्तरता पाउन सकिरहेको छैन ।

तपाईको प्रतिक्रिया