काठमाडौँ, चैत ८ : नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले आज पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथग्रहणलगत्तै महान्यायाधिवक्ता कार्यालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो ।
महान्यायाधिवक्ता वडालले पदभारका क्रममा संविधान, कानूनलाई पूर्णरुपमा पालना गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महान्यायाधिवक्ता कार्यालयले अगाडि सारेका योजनालाई अगाडि बढाउने बताउनुभयो ।
सो अवसरमा पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई बिदाइ गरिएको थियो । बिदाइका अवसरमा खरेलले आफूले महान्यायाधिवक्ता भएर केही सुधारका कामहरु शुरु गरेको र त्यसलाई थप अघि बढाउन आग्रह गर्नुभयो ।
नेपालको संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ताको नियुक्त गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार यही चैत ६ गते महान्यायाधिवक्तामा बडालको नियुक्ति हुनु भएको हो । सोही दिन पूर्वमहान्यायाधिवक्ता खरेलले पदबाट राजीनामा दिनुभएको थियो ।






