पशुपतिनगर (इलाम), चैत ८ : भारतमा ४० वर्ष जेल जिवन बिताएर माई नगरपालिका १० का दिपक जैसी (तिम्सीना) घर फर्कनुभएको छ । लामो यात्राको थकानले गर्दा उहाँले केही नबोलेर टाउको हल्लाएर घर पुग्दा खुसी लागेको प्रतिक्रिया दिनुभयो । घर फर्किएको खुसीमा ८५ वर्षीया आमा धनमाया तिम्सिनाले मिठाइ ख्वाउन लाग्दा पनि गुलियो खान मन नलागेको प्रतिक्रिया उहाँले दिनुभयो । छोरा फर्किएपछि उहाँका आमा धनमायाले आशा मारे पनि अहिले फर्किएकाले खुसी लागको बताउनुभयो ।
४० वर्षपछि भारतको कोलकोत्तामा जेल जिवन बिताइ रहनुभएका माई नगरपालिका १० का दिपक जैसी (तिम्सीना) घर आउने भएसँगै परिवारमा खुसी छाएको हो । दिपकका कान्छा भाई धर्मानन्दले परिवारमा खुसी छाएको बताउनुभयो । उहाँले भन्नुभयो ‘पाँच दाजुभाईमा म मात्र वाँकी थिए, अरु दाईहरु बितिसके , दिपक दाई आएपछि सबै भन्दा बढी खुसी म छु ।’ ४० वर्षदेखि भारतीय जेलमा बन्दी जीवन बिताइ रहनुभएका इलामका दुर्गाप्रसाद तिम्सिना (दिपक)लाई कोलकोताको उच्च अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको छ ।
अधिवक्ता हिरक सिन्हाले अदालतले बुधबार साँझ नै उहाँलाई तत्काल छोड्न आदेश दिए पनि केही कागजी प्रक्रिया नमिलेका कारण हिजाे मात्र जेल मुक्त गरिएकाे हाे । अदालतले छोडे पनि दिपकले छ महिनाको अन्तरमा तारेख धाउनु पर्नेछ । जेल प्रशासनको लापर्बाही र कोही आफन्त सम्पर्कमा नपुगेका कारण दिपकको विषयमा सुनुवाई नभएको पाईएको छ । सन् १९८१ मा हत्या अभियोगमा दार्जिलिङ जेल परेपछि उहाँलाई २००५ मा दार्जिलिङबाट अलिपुरद्वार जेल हुँदै कोलकोता जेल लगिएको थियो ।
दिपक जैसी नामले चिनिने तिम्सिना कोलकोतास्थित दमदम सेन्ट्रल जेलमा बस्दा बस्दै सेतै फुली सक्नुभएको छ । ६६ वर्षका जैसीसँग उहाँका भतिज गोपाल तिम्सिनाले भेटेपछि एक महिना अघि कोलकातोस्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको पहलमा उहाँलाई जेल मुक्त गराउने काम भएको थियो ।






