पार्टी कामलाई व्यवस्थित गरेर अघि बढ्न निर्देशन

  चैत ०८, २०७७

काठमाडौं, चैत ८ : उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले विश्वभर फैलिरहेका पार्टी सम्वद्ध प्रवासी नेपाली मञ्चको भेलालाई सम्वोधन गर्नुहुँदै वाधा अड्चन पन्छाउदैं उत्साहकासाथ पार्टी कामलाई व्यवस्थित गर्न निर्देशन दिनुभएको छ । वद्लिंदो विकसित राजनीतिक घट्नाक्रमको सन्दर्भमा प्रवासमा रहेका अगुवा नेता कार्यकर्तालाई जानकारी दिन आइतबार आयोजित भेलालाई सम्वोधन गर्दै उहाँले सो निर्देशन दिनुभयो ।

विगतमा अनेकन वाधा, अड्चन र चुनौती परास्त गर्दै नेपालको कम्युनिष्ट आन्दोलन यहाँसम्म आइपुगेको सन्दर्भ उल्लेख गर्दै महासचिव पोखरेलले आउने दिनमा पनि चुनौतीलाई परास्त गर्दै अगाडि जाने कुरामा उत्साहकासाथ अघि बढ्न प्रवास सम्वद्ध पङ्तिलाई आव्हान गर्नुभयो । “हामी सजिलै यहाँसम्म आइपुगेका होइनौं, कम्युनिष्ट आन्दोलनभित्र अनेकन घात प्रतिघात, टुटफुटको शृङ्ृंखला व्यहोर्दै आएका हौं” महासचिव पोखरेलले थप्नुभयो, “बदलिएको सन्दर्भमा अब तपाईहरु सवै उत्साहकासाथ विगतका तितामिठा सन्दर्भलाई विर्सेर सवैलाई समेट्दै अगाडि बढ्नुपर्छ ।”

उहाँले ठूलो छाति बनाएर संगठित र एकतावद्ध गर्ने अभियानमा लाग्न प्रवास सम्वद्ध सवैलाई आव्हान गर्नुभयो । “तपाईहरु सवैले तिक्ततालाई विर्सेर पार्टीलाई एकतावद्ध बनाउने काममा लाग्नुपर्छ” उहाँले भन्नुभयो । उहाँले प्रवासी नेपालीहरुको विज्ञता र कमाएको सम्पत्तीलाई देश विकासमा कसरी प्रयोग गर्ने सकिन्छ भन्ने सन्दर्भमा योजना लिएर आउन आग्रह गर्नुभयो । भेलामा विभिन्न देशका २ सय ६६ जना प्रवासी नेपाली मञ्चका अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाको अध्यक्षता सम्पन्न भएको भेलामा प्रवासी नेपाली मञ्च हङ्गकङ्गका अध्यक्ष भक्त गुरुङ लगायतले बोल्नुभयो ।

तपाईको प्रतिक्रिया