पेरिस, चैत ६ : कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि ‘लकडाउन’ भएको फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले बिहीबार घोषणा गर्नुभएको हो । उहाँले बिहीबार पत्रकार सम्मेलन गरेर फ्रान्समा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप पहिले भन्दा पनि झन् बढेका स्थानहरुमा सो लकडाउनको घोषणा गर्नुभएको हो ।
उहाँले बढी प्रभाावित विभिन्न १६ ओटा राज्यमा यस्तो नियमको घोषणा गर्नुभएको हो । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले करिब चार महिनाअघि मात्र पनि दोस्रोपटक लकडाउनको घोषणा गर्नुभएको थियो । तर प्रधानमन्त्री क्यास्टेकले यो अहिलेको लकडाउन पहिलेको जस्तो कडा नरहेको र यहाँका नागरिकले आफ्नो घरमा भने बस्नुपर्ने बताउनुभएको छ ।
पहिलेका लकडाउनमा एक किसीमले कफ्र्यु नै लगाएजस्तो हुने गरेकोमा अहिले त्यस्तो नभएर नागरिकहरुले घरमा बस्नुपर्ने मात्र बताइएको छ । कोरोना भाइरसको महामारीको सुरुमा युरोपमा अति प्रभावितमध्येको फ्रान्समा गत मार्चमा पहिलोपटक लकडाउन गरिएको थियो । त्यसबेला २ महिना लकडाउन गरेर खुला गरिएको थियो ।
पछिल्लो समय महामारीको दोस्रो लहर तीव्र गतिमा बढेपछि प्रधानमन्त्रीले शुक्रबारदेखि नै लागू हुने गरी पुनः लकडाउनको घोषणा गर्नुभएको हो । यो लकडाउनका समयमा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्रै घर बाहिर निस्कने अनुमति दिइनेछ । तर एक राज्यबाट अर्कोमा जान यात्रा प्रतिबन्ध गरिएको छ ।
विद्यालयहरु भने खुला राखिएको छ तर यहाँको सरकारले तय गरेका मापदण्डहरु पूर्णरुपमा लागू गरेर मात्र विद्यालय खोल्न सकिने बताइएको छ । उता काममा जानुपर्ने मानिसले पनि आफ्नो घरबाट बढीमा १० किलोमिटर परसम्मको कामका लागि मात्र जान सक्ने बनाइएको छ ।
प्रधानन्त्रीले बिहीबार पत्रकार सम्मेनलमा भन्नुभएको छ– रेस्टुरेन्ट, बारसहितका अत्यावश्यकभन्दा बाहिरका सेवा बन्द रहनेछन्, तर विद्यालय र उद्योगहरु भने खुला हुनेछन् । फ्रान्समा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ भने दैनिक ३० हजारभन्दा बढी संक्रमित थपिदै गएका छन् ।
गएको २४ घन्टायताको अर्थात् बिहीबार मात्रको तथ्यांकमा ३५ हजार जनामा यो संक्रमण देखिएको छ । पछिल्लो चौबीस घण्टामा २६८ जनाको यो संक्रमणबाट निधन नै भएको छ । यसरी पछिल्लो समयमा फ्रान्समा कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेहरुको संख्या पनि प्रतिदिन बढ्दै गएको देखिएको छ । फ्रान्समा अहिलेसम्ममा करिब ४२ लाख जनालाई यो संक्रमण देखिएको छ । त्यसैगरी महामारीबाट मृत्यु हुनेको संख्या पनि ९१ हजारभन्दा बढी पुगेको बताइएको छ ।






