काठमाडौं, चैत ६ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसलालाई सरकारले कार्यान्वयनमा लगिसकेको जानकारी गराउनुभएको छ । प्रतिनिधिसभा बैठकमा शुक्रबार सरकारको तर्फबाट धारणा राख्नुहुँदै मन्त्री ज्ञवालीले सो जानकारी गराउनुभयो ।
सर्वोच्चको फैसलाअनुसार अब संसद बैठकबाटै राजनीतिक स्थायित्व खोज्नुपर्ने बाध्यात्मक अवस्था आएको उहाँले बताउनुभयो । “संविधानले सदन सञ्चालनसँग सम्बन्धित, अध्यादेशसँग सम्बन्धित प्रष्ट व्यवस्था गरेको छ उहाँले भन्नुभयो, “संसदको पहिलो बैठकमा अध्यादेश प्रस्ताव ल्याउन पाइने व्यवस्था छ, तर त्यो प्रस्तावमा हामीले सहमति जुटाउन सकेनौं, चिन्ताको विषय हो ।”
संक्रमणकालीन न्यायलाई टुङ्गोमा पु-याउन आयोगको समयावधि बढाउने, एसिड आक्रमणका घटनाको सजायसम्बन्धी व्यवस्थाको प्रस्ताव समेत संसद बैठकमा रोक्ने काम हुनु उचित नभएको उहाँले बताउनुभयो । “सर्वोच्च अदालतको फैसलाले सरकार दुईवटै मुद्दा हारेको छ, तर हामीले कुनै आक्षेप लगाएका छैनौं” मन्त्री ज्ञवालीले भन्नुभयो, “सर्वोच्च अदालत र निर्वाचन आयोगले सहमतिको ढोका बन्द गरेको छैन, हामी अझ मिलेर अघि बढ्नसक्ने ठाउँ छ ।”
संविधानप्रति सबै दलको साझा धारणा छ तर पनि कार्यान्वयनमा फरक बुझाइ भइरहेको चर्चा गर्नुहुँदै मन्त्री ज्ञवालीले विधिको शासनप्रति सबै प्रतिबद्ध हुनुपर्छ भन्नुभयो । संविधान जारी भइसकेपछि सिके राउत समूहलाई र पछिल्लो समय विप्लव चन्द नेतृत्वको नेकपा माओवादीलाई शान्तिपूर्ण मूलप्रवाहमा ल्याउने काम भएको उहाँले बताउनुभयो । कानुनको दायराभित्र आपसमा मतभेद हुनु लोकतन्त्रमा छुट छ तर संविधानको उल्लंघन गर्ने छुट कसैलाई छैन उहाँले भन्नुभयो ।
मुलुक कोरोनाले ग्रस्त भए पनि सरकारले कुशलतापूर्वक सामना गरेको चर्चा गर्नुहुँदै मन्त्री ज्ञवालीले कोभिड १९ को मामिलामा नेपालले नयाँ दृष्टान्त उपलब्ध गरेको बताउनुभयो । ६० देशमध्ये नेपाल पनि एउटा हो कोभिड १९ खोप समयमै शुरु गरेको उहाँले चर्चा गर्नुभयो । अर्को चरणको खोप चाँडै शुरु हुने उहाँले जानकारी दिनुभयो । छिमेकी मुलुक भारत र चीनले खोप उपलब्ध गराएकोमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
खोप शुरु भए पनि अझै संकट पूर्णतः अन्त्य भइनसकेकाले सबैलाई सचेत रहन उहाँले आग्रह गर्नुभयो । मन्त्री ज्ञवालीले नेपालले बाह्य मुलुकसँगको सम्बन्ध विस्तारमा पनि सफलता प्राप्त गरेको जानकारी दिनुभयो । मुलुकले यसबीचमा महत्वपूर्ण सफलता प्राप्त गरेको उहाँले प्रष्ट पार्नुभयो ।
अहिले ‘प्रतिगमन’ शब्दले खुवै चर्चा पाएपनि सरकार अग्रगामी काम गरेको बताउनुभयो । उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउनु प्रतिगमन होइन, कोभिड १९ विरुद्ध खोप लगाउनु प्रतिगमन होइन उहाँले भन्नुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारी चैत ९ र १० गते मित्रराष्ट्र बंगलादेशको दुई दिने भ्रमण गर्न लाग्नुभएको पनि मन्त्री ज्ञवालीले बैठकलाई जानकारी गराउनुभयो । भ्रमणले दुई देशबीच सांस्कृतिक आदानप्रदान, पर्यटन विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने उहाँले जानकारी गराउनुभयो ।






