भारतमा २४ घण्टामा ३६ हजार सङ्क्रमित थपिए

  चैत ०५, २०७७

नयाँ दिल्ली, चैत्त ५ : भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको सङ्ख्यामा फेरि बृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब ३६ हजार जना संक्रमित भएका छन् । गत बुधबार एक दिनमा २८ हजार ९०२ जना सङ्क्रमितको सङ्ख्या बुधबार ३५ हजार ८७१ पुगेको छ । गत २४ घण्टाको कोरोना संक्रमितको यो संख्या यस वर्ष शुरु भएयताको सबभन्दा बढी हो ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड १४ लाख ७४ हजार ६०५ पुगेको सो मन्त्रालयले जनाइएको छ । कुल सङ्क्रमितमध्ये दुई लाख ५२ हजार ३६४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कुल एक करोड १० लाख ६३ हजार २५ जना सङ्क्रमणमुक्त भएका छन् । गत २४ घण्टामा कोरोना संक्रमणबाट १७२ जनाको मृत्यु भएपछि यहाँ कुल मृतकको संख्या एक लाख ५९ हजार २१६ पुगेको बिहीबार जनाइएको छ ।

भारतमा जनवरीबाट कोरोनाविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म तीन करोड ७० लाखभन्दा बढीले खोप लगाइसकेका छन् । त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ ।  बुधबार एकै दिनमा १० लाख ६३ हजार जनाको कोरोना परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया