बाघको त्रासमा निकुञ्जमा हुने जंगल वाकमा रोक

  चैत ०४, २०७७

बर्दिया, चैत ४ : पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज र निकुञ्ज मध्यवर्ती आसपासका क्षेत्रमा बाघले मानिस माथि दिनहुँजसो आक्रमण गर्न थालेपछि निकुञ्ज प्रशासनले जंगल वाक (पैदल यात्रा) मा रोक लगाएको छ । निकुञ्जले बुधबार एक सूचना निकालेर निकुञ्ज क्षेत्रभित्र बाघको जोखिम बढेकाले पर्यटकको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरी निकुञ्जभित्रको जंगल वाक बन्द गरिएको जनाएको छ ।

जंगल वाकको लागि निकुञ्ज भित्र लठ्ठिको भरमा मात्रै हिँड्दै जानुपर्ने भएका कारण बाघलगायतका जंगली जनावारको आक्रमणमा पर्ने जोखिम अत्याधिक रहेकाले अर्को सूचना जारी नभएसम्मका लागि जंगल वाक बन्द गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

पछिल्लो समय मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वन र निकुञ्जमा पर्ने राजमार्ग क्षेत्रमा बाघको जोखिम बढेको छ । पछिल्लो पटक मंगलबार दिउँसो निकुञ्जमा निगुरोको साग टिप्न गएकी ठाकुरबाबा–७ मोहनपुरकी ६२ वर्षीया डल्ली रावतलाई बाघले आक्रमणमा परी मृत्यु भएकाके थियो । योसँगै यस वर्षको अहिलेसम्म निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्र र खाता जैविक मार्ग क्षेत्र आसपासमा बाघको आक्रमणमा परी १० जनाको मृत्यु भैसकेको छ ।

तपाईको प्रतिक्रिया