साओ पाओलो, चैत ३ : ब्राजिलमा कोभिड १९ को संक्रमणबाट अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या दुई लाख ८० हजारको नजिक पुगेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
संक्रमणबाट दुई लाख ७९ हजार २३९ जनाको ज्यान गएको बताइएको छ । गएको २४ घन्टायता मात्र एक हजार जनाभन्दा बढीको ज्यान गएको छ । अहिले पनि यहाँ संक्रमित हुनेको संख्या नघटेको बताइएको छ ।
अधिकारीहरुका अनुसार संक्रमण ब्राजिलमा दिन प्रतिदिन बढिरहेको छ । मृत्यु हुनेहरुमा पछिल्लो समयमा २० देखि ५० वर्षसम्मका नागरिक रहेका पनि बताइएको छ । एक करोड १५ लाखभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेको पनि स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।
अधिकारीहरुका अनुसार कोभिड १९ बाट संक्रमित हुनेको संख्या एक करोड १५ लाख १९ हजार ६०९ जना पुगेको छ । यसका साथै पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको बताइएको छ ।
ब्राजिलका स्वास्थ्य अधिकारीहरुका अनुसार प्रति एक लाखमध्ये ५ हजार ४८२ जनामा यो संक्रमण हुने गरेको छ । त्यस्तै प्रति एक लाख जनसंख्या संक्रमणमा कम्तीमा पनि १३३ जनाको ज्यान जाने गरेको पनि बताइएको छ ।






