काठमाडौं, चैत १ : कोभिड–१९ को संक्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु हुने संख्या शून्यमा झरेको छ । पछिल्लो छ सातायता पहिलो पटक विदेशमा संक्रमणका कारण हुने मृत्यु शून्य भएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार गत वर्षदेखि विश्वव्यापीरुपमा फैलियो कोरोना भाइरस संक्रमणका कारण गत सातासम्ममा २१ देशमा रहेका ३४१ नेपालीको निधन भएको थियो ।
गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता कोरोना संक्रमण दरमा समेत उल्लेख्यरुपमा कमी आएको छ । यस साता स्वीडेन, स्पेन, केन्या, युएइमा रहेका थप नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।
उहाँका अनुसार हालसम्म ५३ देशमा ६३ हजार ३०७ नेपालीमा कोरोना पुष्टि भएको छ । तीमध्ये ६१ हजार २३७ संक्रमण मुक्त भएका छन् । कोरोनाका कारण नेपालमा तीन हजार १४ जनाको निधन भएको छ । नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या दुई लाख ७५ हजार १७८ जना भने दुई लाख ७१ हजार २४९ कोरोनाबाट मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत छ ।
ढुक्क भएर खोप लगाऔँ
समितिका संयोजक डा सापकोटाका अनुसार हाल विश्वभर प्रयोगमा रहेका खोप सुरक्षित रहेकाले ढुक्क भएर खोप लगाउन आग्रह गर्नुभएको छ । उहाँले केही अपवादबाहेक खोप प्रयोगबाट गम्भीर समस्या नदेखिएकाले खोप लगाउन आह्वान समेत गर्नुभयो ।