काठमाडौं, फागुन २९ : नेकपा (एमाले) माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले चैत ४ र ५ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेलाको आव्हान गरेको छ । शनिबार शँखमूलस्थित एक बैंक्वीटमा छलफल गर्दै सो निर्णय भएको नेता भीमबहादुर रावलले जानकारी दिनुभयो ।
अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक चैत ७ गते आव्हान गरेका बेला सो पक्षले बैठक अगावै दुई दिने भेला गर्ने तयारी गरेको हो । कार्यकर्ता भेलामा आफू निकटको केन्द्रीय सदस्यहरु, संघीय सांसद, प्रदेश सांसद, जिल्ला कमिटीका पदाधिकारी तथा स्थानीय तहका प्रमुख, उपप्रमुखहरुको सहभागिता रहने नेता रावलले बताउनुभयो ।
उहाँका अनुसार भेलामा जनवर्गीय संगठनका प्रतिनिधि, पेशागत, महिला लगायतको सक्रिय सहभागिता रहने र भेलाले महत्वपूर्ण निर्णय गर्ने नेता रावलले बताउनुभयो । शुक्रबार बालुवाटारमा भएको निर्णय आफूहरुले नमान्ने नेता रावलले बताउनुभयो । आफूहरुले पार्टीभित्र समानान्तर कमिटी नबनाएको तर पार्टीको कमिटीलाई पुनरजीवित र सक्रिय मात्र बनाएको नेता रावलले दावी गर्नुभयो । कार्यकर्ता भेला लगत्तै राष्ट्रिय महिला कार्यकर्ताको पनि भेला गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।






