पार्टीको नाम फेर्न माओवादी केन्द्रभित्र छलफल

  फागुन २७, २०७७

काठमाडौं, फागनु २७ : सर्वोच्च अदालतले तत्कालीन एमालेसँगको एकता बदर गरिदिएपछि माओवादी केन्द्रभित्र नाम परिवर्तनको विषयले प्रवेश पाएको छ । मंगलबार र बुधबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा नाम परिवर्तनको विषयमा अनौपचारिक रुपमा छलफलसमेत भएको छ । तर, के नाम राख्ने र कहिले राख्ने भन्ने औपचारिक निर्णय हुन भने बाँकी रहेको स्थायी कमिटीका एक नेताले बताए ।

उनका अनुसार मंगलबारको बैठकमा अध्यक्ष दाहालले विभिन्न ठाउँबाट नाम परिवर्तनका लागि सुझाव आएको र पार्टीको नाम परिवर्तन हुने बताएका थिए । ती नेताका अनुसार अध्यक्ष दाहालले सुझाव आउनेक्रम जारी रहेकाले नाम परिवर्तनबारे औपचारिक निर्णय पछि लिनेसमेत जानकारी दिएका थिए ।

नेताहरुका अनुसार स्थायी कमिटी बैठकमा ऋषि कट्टेलसँग एकता गरेर पार्टीको नाम नेकपा नै राख्ने, नेपाल कम्युनिष्ट पार्टीका पछाडि केही जोड्ने वा नेपाली कम्युनिष्ट पार्टी राख्ने विषयमा नेताहरुले सुझाव दिएका थिए । ‘सबै कम्युनिष्टहरुलाई एकीकृत गराउन मिल्ने गरी नाम राख्दा उपयुक्त हुन्छ भनेर नाम परिवर्तनको विषयमा छलफल भएको हो,’ ती सदस्यले भने ।

सर्वोच्च अदालतले फागुन २३ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता बदर हुने गरी फैसला दिएलगत्तै एमाले र माओवादी केन्द्र अस्तित्वमा आएका छन् । त्यससँगै माओवादी केन्द्रको स्थायी कमिटी बैठकले संगठन निर्माणको योजना बनाउन पम्फा भुसाल, जनार्द्धन शर्मा, गिरिराजमणि पोखरेल र वर्षमान पुन रहेको चार सदस्यीय कार्यदल समेत गठन गरेको छ ।

माओवादी केन्द्रले यसअघि पनि नाम परिवर्तन गर्दै आएको छ । पछिल्लोपटक एकीकृत माओवादीले विभिन्न समूहसँग एकता गर्दै २०७२ जेठ ६ मा पार्टीको नाम बदलेर माओवादी केन्द्र बनाएको थियो । त्यसअघि २०६५ मा तत्कालीन माओवादी र एकता केन्द्र मसालबीच एकतापछि दाहालले आफू नेतृत्वको पार्टीको नाम माओवादी केन्द्र बनाएका थिए ।

तत्कालीन माओवादी केन्द्र र एमालेबीच २०७५ जेठ ३ मा एकता भई नेकपा बनेको थियो । तर, अदालतले ऋषि कट्टेल नेतृत्व नेकपालाई वैधानिकता दिएपछि एमाले र माओवादी केन्द्रबीचको एकता भंग भएको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया