दाह्रेगौडा, जहाँ नौ राष्ट्रका झण्डा फरफराउँछन (फोटो फिचर)

  फागुन २७, २०७७

बागलुङ, फागुन २७ : समुन्द्री सहतदेखि करिव दुई हजार पाँच सय मिटर अग्लो दारेगौडा पहाड । उच्च भागमा रहेको समथर भाग, जहाँबाट आँखै अगाडि देखिन्छन दन्तलहर जस्तै हिमश्रृङखला । बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखराको डोहेरीस्थित दाह्रेगौंडा क्षेत्रमा पुग्ने प्रकृतिप्रेमी जो कोहीलाई पनि आह ! लाग्छ ।

प्राकृतिक छटाले परिपूर्ण दारेगौडा क्षेत्रको पर्यटन विकासमा प्रर्याप्त पूर्वाधार अभाव भए पनि आन्तरिक पर्यटकहरुको रोजाईमा पर्न थालेको छ । पर्यटन विकासको प्रचुर सम्भावना बोकेको दारेगौडा क्षेत्रको प्रचार प्रसार तथा पर्यटक आकर्षण गर्न पुष्पाञ्जली ग्रामिण विकास केन्द्रले शिवरात्रीको अवसर पारेर सार्क राष्ट्रसहित नौ देशको झण्डा स्थापना गरेको हो ।

भीमापोखरा वडा कार्यालयको सहयोगमा नेपालसहित भारत, पाकिस्तान, भुटान, श्रीलंका, माल्दिभ, बंगलादेश, अफगानिस्तान र चीनको राष्ट्रिय झण्डा राखिएको पुष्पाञ्जली ग्रामिण विकास केन्द्रका निवर्तमान अध्यक्ष प्रेम केसीले जानकारी दिनुभयो । दाह्रेगौडामा पुग्ने स्वदेशी तथा विदेशी नागरिकलाई आफ्नोपनको महशुस गराउने उद्देश्यले झण्डा स्थान गरेको अध्यक्ष विक्रम शर्माको भनाई छ । उक्त स्थानबाटबाट दर्जनभन्दा बढी हिमश्रृङखलाका साथै म्याग्दी, पर्वत, गुल्मी, क्षेत्रको अवलोकन गर्न सकिन्छ । झण्डा स्थापनासँगै उक्त क्षेत्रमा थप आकर्षण थपिएको छ ।

आँखै अगाडि देखिने अन्नपूर्ण, धौलागिरी, मानापाथी, माछापुच्छे लगायतका दर्जनभन्दा बढी हिमश्रृङखलाको मज्जा लुटन सकिने हुँदा सार्वजनिक विदा तथा फुर्सदको समय कटाउने, जंगलका चराचुरुङ्गीको आवाज सुन्दैै हिमश्रृङखलाको आगनमा रमाउने पर्यटकको रोजाईमा पर्न थालेको हो ।

‘अहिले दैनिक जसो पर्यटक आउन थालेका छन’ स्थानीय प्रेम केसीले भन्नुभयो–‘हिमालको आगनमा बसेर मकै भट्टास खानेलाई यो नै स्वर्ग जस्तो लाग्छ ।’ त्यहाँ जाने पैदल मार्ग निर्माण गर्न सके त्यस क्षेत्रका पर्यटन विकासमा सहयोग पुग्ने उहाँको भनाई छ । बागलुङ सदरमुकामदेखि करिव २६ किलोमिटर सडक यातायात र त्यही पछि करिव दुई घण्टाका पैदल यात्रामार्फत दारेगौडा पुग्न सकिन्छ ।

डोहेरीसम्म कच्ची सडकले जोडिएको हुँदा जंगल क्षेत्रमा पर्यटन पदमार्ग निर्माण गर्न सके म्याग्दी र बागलुङ जिल्लाको नयाँ गन्तव्यको रुपमा विकास हुने स्थानीय विक्रम शर्माको भनाइ छ । ‘दारेगौडा नयाँ पर्यटन गन्तव्य हो’ उहाँले भन्नुभयो– ‘चिसो हावापानीमा अर्गानीक उत्पादनको स्वाद लिएर हिमश्रृङखलाको अवलोकन गर्न उपयुक्त क्षेत्र पहिचान भएको छ ।’

तपाईको प्रतिक्रिया