युवालाई सहुलियत कर्जा प्रदान गर्न नयाँ प्रक्रिया

  फागुन २२, २०७७

काठमाडौँ, फागुन २२ : युवालाई बिनाब्याज र बिनाधितो सहुलियतपूर्ण कर्जा प्रदान गर्न मिल्ने गरी नयाँ प्रक्रियामार्फत कार्यक्रम अगाडि बढाइँदै छ । राष्ट्रिय युवा परिषद्को समन्वयमा विभिन्न पालिकामार्फत बिनाधितो बिनाब्याज स्वरोजगार बन्न चाहने युवालाई कर्जा उपलब्ध गराउन लागिएको हो ।

सहुलियतपूर्ण कर्जाको कार्यक्रमलाई परिषद्ले सहजीकरणसहित प्याकेज बनाएको छ । पालिकाहरूको स्थानीय बजेटलाई युवा स्वरोजगारसँग जोड्ने गरी कार्यक्रम अगाडि बढाउन लागिएको हो । प्रत्येक पालिकामार्फत तीन करोड रुपियाँ बजेट युवा स्वरोजगारका लागि छुट्याएर त्यसलाई सहुलियतपूर्ण कर्जाको कार्यविधिअनुसार स्वरोजगारका लागि दिन खोजिएको हो ।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले तीन करोड रकमलाई बैङ्कको मुद्दती खातामा राखेर त्यसबाट आउने ब्याज छुट गरी बिनाब्याज कर्जा उपलब्ध गराउने उपाय अपनाइएको बताउनुभयो । उहाँले पालिकाले छुट्याएको तीन करोड रकम उद्यम गर्न चाहने तीन सय युवालाई १० वटा समूह बनाएर प्रदान गरिने जानकारी दिनुभयो । उहाँले सबै पालिकामार्फत यो कार्यक्रम लैजान सक्दा युवा बेरोजगारीको समस्या बृहत् रूपमा सम्बोधन गर्न सकिने दाबी गर्नुभयो ।

स्वरोजगार बन्न चाहने युवालाई पालिकामार्फत आवेदन आह्वान गरी उद्यमशीलता र व्यवसाय गर्न आवश्यक परामर्श दिने व्यवस्था मिलाइएको छ । एक हजार युवालाई तालिम दिएर उनीहरूको मनोवैज्ञानिक परीक्षण गरी तीन सय युवा छनोट गरिने उहाँले बताउनुभयो ।

उद्यमशीलता तालिम, परामर्श र मनोवैज्ञानिक परीक्षणसहित छनोट भएका युवाले व्यवसाय गर्नसक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । व्यावसायिक परियोजना निर्माणदेखि आवश्यक तालिम दिइने पनि उहाँले बताउनुभयो । उहाँले उद्यमी बन्ने युवालाई एक हप्ताको ‘जेनरेट योर बिजनेस’ र ‘स्टार्ट योर बिजनेस’को थप तालिमसमेत दिइने बताउनुभयो । विभिन्न चरणमा युवालाई आवश्यक सहयोग गर्दै स्वरोजगार बनाउन प्याकेजमै नयाँ तरिकाले कार्यक्रम अगाडि बढाउन लागिएको उहाँले बताउनुभयो ।

उपाध्यक्ष ढुङ्गेलले आगामी आर्थिक वर्षमा ७७ जिल्लामा एउटा÷एउटा पालिकामार्फत नमुना कार्यक्रमका रूपमा यो कार्यक्रम लाने तयारी भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सबै ७५३ पालिकामा पु¥याउने लक्ष्य हो । ” उहाँले यसरी सबै पालिकामा पुग्न सके वर्षमा दुई लाख २६ हजार युवालाई स्वरोजगार बनाउन सकिने स्पष्ट गर्नुभयो । वार्षिक रूपमा तीन लाख युवा रोजगारीका लागि श्रम बजारमा आउने गर्छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिकाबाट यो कार्यक्रम सुरु भएको छ । यस कार्यक्रमका लागि नगरपालिकामा एक हजार १२ युवाले आवेदन दिएका छन् । राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख बाबुराम ढुङ्गानाले बिनाब्याज र बिनाधितो सहुलियतपूर्ण कर्जा वितरणको नयाँ कार्यक्रमले युवा उद्यमी उत्पादनमा ठूलो योगदान पुग्नसक्ने बताउनुभयो ।

कार्यविधिको व्यवस्था
सहुलियतपूर्ण कर्जा कार्यविधिमार्फत बैङ्कहरूले पाँच प्रतिशत ब्याजमा उद्यम गर्न चाहने युवालाई बिजनेस प्लान हेरेर कर्जा दिने गरेका छन् । विशेष गरी राष्ट्रिय वाणिज्य बैङ्क र एनएमबी बैङ्कले युवाका क्षेत्रमा सहुलियपूर्ण कर्जा प्रवाह गरिरहेका छन् ।

अर्थ मन्त्रालयले दुई वर्षअघि सहुलियतपूर्ण कर्जाको कार्यविधि ल्याएको हो । सबै बैङ्कले अनिवार्य रूपमा कार्यविधिअनुसार सहुलियतपूर्ण कर्जा दिनुपर्ने बाध्यकारी व्यवस्था गरे पनि युवाले कर्जा प्राप्त गर्न नसकेको व्यापक गुनासो गर्दै आएका छन् ।

कार्यविधिमा व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा पाँच करोडसम्म, शिक्षित युवा स्वरोजगार कर्जाका लागि सात लाखसम्म, विदेशबाट फर्केका युवा परियोजना र दलित समुदाय विकास कर्जा १० लाखसम्म, महिला उद्यमशील कर्जा १५ लाखसम्म, उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा पाँच लाखसम्म पाउने व्यवस्था गरिएको छ । व्यावसायिक परियोजना धितोमा राखेर वा सामूहिक जमानीका आधारमा १० लाख रुपियाँसम्म कर्जा पाउनसक्ने व्यवस्था गरिएको छ ।

महिला उद्यमशील कर्जामा छ प्रतिशत र अन्य कर्जामा पाँच प्रतिशत ब्याज अनुदान दिने व्यवस्था गरिएको छ । बैङ्कहरूले आफ्नो आधार ब्याजदरमा दुई प्रतिशत थप गरी त्यसमा उक्त छुट दिनुपर्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया