घरेलु मैदानमा लिभरपुलको लगातार पाँचौं हार, चेल्सी चौथो स्थानमा उक्लियो

  फागुन २२, २०७७

काठमाडौं, फागुन २१ : लिभरपुल घरेलु मैदान एनफिल्डमा लगातार पाँचौं हार बेहोरेको छ । प्रिमियर लिग अन्तर्गत गए राति सम्पन्न खेलमा लिभरपुललाई चेल्सीले ०–१ ले हराएको हो ।

पहिलो हाफको उत्तराद्र्धमा मेसन माउन्टले गर्नुभएको एक मात्र गोल चेल्सीको लिभरपुलमाथि जित हात पार्न पर्याप्त भयो । थोमस टुचेल प्रशिक्षकको जिम्मेवारी लिए यता चेल्सीले लिभरपुलमाथि जित हात पार्दा दशौं खेलसम्म अपराजित यात्रालाई कायम राखेको छ ।

जितसँगै चेल्सी शीर्ष चारमा उक्लेको छ । च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्ने होडमा रहेको लिभरपुल भने सातौं स्थानमा झरेको छ । पछिल्लो संस्करणमा १८ अङ्कको अन्तरबाट प्रिमियर लिगको उपाधि हात पारेको लिभरपुलले गत् जनवरीमा बर्नलीसँग हार बेहोरे यता जित हात पार्न सकेको छैन् । गत् संस्करणदेखि लिभरपुलले घरेलु मैदानमा अपराजित यात्रालाई ६८ खेलसम्म पुर्याएको थियो ।

जितसँगै चेल्सीले २७ खेलबाट ४७ अङ्क जोडेको छ । तेस्रो स्थानको लेष्टरले भने २७ खेलबाट ५० अङ्क बटुल्दा शीर्ष स्थानको म्यान्चेष्टर सिटीले २७ खेलबाट ६५ अङ्क पुर्याएको छ । दोस्रो स्थानको म्यान्चेष्टर यूनाइटेडले ५१ अङ्क जोडेको छ ।

तपाईको प्रतिक्रिया