सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार : अर्थमन्त्री

  फागुन २१, २०७७

भैरहवा, फागुन २१ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको मनोबल बढाउन सरकार जुनसुकै काम गर्न तत्पर रहेको बताउनुभएको छ । उहाँले सरकारले जेठ १५ गते बजेट ल्याउन लागेकोले रचनात्मक सुझाव दिन निजी क्षेत्रलाई आग्रह गर्नुभयो । सरकार निजी क्षेत्रसंग सहकार्य गर्दै जाने उहाँको भनाइ छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६२ औं साधारणसभा तथा अधिवेशनलाई शुक्रबार भैरहवामा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सरकारलाई मर्का नपर्ने र उद्योगी व्यवसायीका समस्या पनि समाधान हुने गरी काम अगाडि बढाउनुपर्ने बताउनुभयो ।

निजी क्षेत्रको समस्या सुन्न र समाधान गर्न आफु र सरकार तयार रहेको उहाँको भनाइ छ । ‘राउण्डटेबुलमा बसेर छलफल गर्छौैं, निजी क्षेत्रको आत्मविश्वास बढाउने र प्रोत्साहित गर्ने सरकारको अभिभारा हो,’ अर्थमन्त्री पौडेलले भन्नुभयो । पछिल्लो समय कोभिड–१९ ले उद्योग, व्यवसाय र पर्यटन क्षेत्रलाई असर पारेकोले कोभिड प्रभावित उद्योगी व्यवसायीको समस्या समाधानका लागि सहुलियतपूर्ण कर्जा लगायत विभिन्न कार्यक्रम अघि सारेको उहाँले बताउनुभयो ।

बन्दाबन्दी अवधिको विद्युतको डिमान्ड शुल्कमा छुट प्रदान गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको उहाँको भनाइ छ । बुटवल र भैरहवालाई दुई शहरका रुपमा नबुझ्न अर्थमन्त्री पौडेलले आग्रह गर्नुभयो । अब सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा, बुटवल, सैनामैना, देवदह, सियारी, शुद्धोधन, ओमसतिया लगायतलाई समेटेर महानगर बनाउने अर्थमन्त्रीको भनाइ छ । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भनेर २०५१ सालदेखि आवाज उठाएकोर अहिले पूरा हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।

सिद्धार्थनगरलाई लुम्बिनीसँग जोड्न बुद्धचोकदेखि लुम्बिनीसम्म फराकिलो सडक निर्माण गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो । सिद्धार्थनगरलाई विकासको दृष्टिकोणले पछाडी पर्न नदिइने उहाँको भनाई छ र्। बुटवल र सिद्धार्थनगर एक्लैले विकास गर्न सक्दैन, अब दुईवर्ष भित्र लुम्बिनी गुरुयोजनाको काम सम्पन्न हुन्छ’, अर्थमन्त्री पौडेलले भन्नुभयो । विकासको पाठशाला रुपन्देही हो भन्ने पहिचान जिल्लाले स्थापित गरिसकेको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव समेत रहनुभएका पौडेलले विकासका सन्दर्भमा एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले केपी ओली नेतृत्वको सरकारले महत्वपूर्ण कार्यहरु गरेको दावी गर्नुभयो । सरकारले विकासलाई दु्रत गतिमा अगाडि बढाएको अर्थमन्त्री पौडेलको भनाई छ ।

कोभिडविरुद्धको खोप समयमै ल्याएको पनि उहाँले बताउनुभयो । कोभिड–१९ लाई परास्त गर्न सक्छौं भन्ने सन्देश सम्पे्रषण गर्न सरकार सफल भएको अथमन्त्री पौडेलले दावी गर्नुभयो । डा. सिके राउत र नेकपा विप्लव समूहलाई सरकारले वार्ताको माध्यमबाट शान्तिपूर्ण राजनीतिमा ल्याएको बताउँदै अर्थमन्त्री पौडेलले अब आर्थिक विकासको अभियानमा लाग्नुपर्ने खाँचो औंल्याउनुभयो ।

तपाईको प्रतिक्रिया