विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु राजनीतिक सफलता : सञ्चारमन्त्री

  फागुन २०, २०७७

काठमाडौं, फागुन २० : सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुुरुङले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) लाई शान्तिपूर्ण राजनीतिमा ल्याएर सरकारले ठूलो राजनीतिक सफलता हात पारेको बताउनुभएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको २३ औं वार्षिकोत्सवको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभयो । “अव मुलुक पूर्ण रुपमा लगानीमैत्री हुनेछ, समृद्ध नेपाल सुुःखी नेपालीको राष्ट्रिय संकल्पले सार्थकता पाउनेछ” उहाँले भन्नुभयो ।

हिंसात्मक गतिविधिमा संलग्न सो समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने सहमति गरेसँगै नेपाललाई शान्तिपूर्ण र समृद्ध देश बनाउने अभियानले तीव्रता पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । “हिंसा छोडेर विप्लव समूूह शान्तिपूर्ण राजनीतिमा आएसँगै मुलुकलाई समृद्ध बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको संकल्प पूरा हुने काममा तीव्रता आउनेछ,” उहाँले भन्नुभयो ।

शान्तिपूर्ण राजनीतिमा ल्याएसँगै बन्दुक बोकेर राजनीतिक गर्ने जंगली युुगको अन्त्य भएको घोषणा पनि मन्त्री गुरुङले गर्नुभयो । अव मुलुकमा बाह्य लगानी भित्र्याउन अनुकूल वातावरण बनेको उल्लेख गर्दै उहाँले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय निकायलाई आह्वान समेत गर्नुभयो ।

मन्त्री गुरुङले दूरसञ्चार क्षेत्रको विकासका लागि पूर्वाधार कम्पनी निर्माणको कामलाई तत्काल अघि बढाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह गर्नुभयो । दूरसञ्चार सेवालाई सुलभ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो बनाउन जरुरी रहेको उल्लेख गर्दै त्यसका लागि इमान्दारिताका साथ काम गर्न दूर सञ्चार प्रदायक संघ, संस्थाहरुलाई उहाँले सचेत गराउनुभयो ।

सरकारले सुशासन, समृद्धि र विकासका लागि ‘डिजिटल नेपाल फ्रेमवर्क’ को अवधारणा अघि सारेको बताउँदै मन्त्री गुरुङले त्यस अभियानलाई सार्थक बनाउने गरी योजना ल्याउन प्राधिकरणले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको उहाँको प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मुलुकलाई सूचना प्रविधिमैत्री बनाउने काममा प्राधिकरणको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार ऐनलाई समसामयिक बनाउन मन्त्री गुरुङको ध्यानाकर्षण गराउनुभएको थियो । कार्यक्रममा मन्त्री गुरुङले प्राधिकरणका उपनिर्देशक सन्दीप अधिकारीलाई ‘उत्कृष्ट कर्मचारी पुरस्कार’बाट सम्मान गर्नुभयो ।

तपाईको प्रतिक्रिया