सुनकोशी मरिण डाइभर्सनको शिलान्यास आज

  फागुन २०, २०७७

सिन्धुलीमाढी, फागुन २० : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुद्देश्यीय आयोजनाको बिहीबार शिलान्यास गर्नुहुने भएको छ । आयोजनाअन्तर्गत सुरुङबाट सुनकोशी नदीको पानी खस्ने स्थल सिन्धुलीको कमलामाई नगरपालिका–२, कुसुमटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुहुने आयोजनाले जनाएको छ ।

आयोजनाको फिल्ड सम्पर्क कार्यालय सिन्धुलीका अनुसार उक्त शिलान्यास कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । फिल्ड सम्पर्क कार्यालय सिन्धुलीका वरिष्ठ भूगर्भ जलविज्ञ विश्वबन्धु केसीका अनुसार शिलान्यास भएपछि तयारीको काम गर्न केही समय लाग्ने र दुई÷तीन महिनापछि मात्रै कुसुमटारबाट सुरुङ खन्न सुरु गरिने बताउनुभयो ।

चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको छ । तराई मधेसको आर्थिक समृद्धिसँग जोडिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ भने टनेल बोरिङ मेसिन (टीबीएम)ले खन्ने आयोजनाले जनाएको छ । वरिष्ठ भूगर्भ जलविज्ञ केसीका अनुसार यसअघि नेपालको पहिलो आयोजनाका रूपमा रहेको भेरी बबई डाइभर्सन आयोजनाको निर्माण कोभेकले गरिरहेको छ ।

दुई वर्षभन्दा कम समयमा नै सुरुङ निर्माण गरिसक्ने योजना रहेको छ । सुनकोशी मरिण आयोजनाको निर्माण अवधि पाँच वर्ष रहेको छ । आयोजना निर्माण सुरु गर्न सिन्धुली जिल्लातर्फ प्रभावित क्षेत्रमा जग्गा अधिग्रहण, मुआब्जा वितरणलगायतका प्राविधिक सबै काम सकिएको छ । २० हेक्टर जमिन अधिग्रहण गरिएको छ भने १५३ जना किसानलाई मुआब्जा वितरण गरिएको छ ।

सुनकोसी नदीमा १२ मिटर उचाइको बाँध निर्माण गरी सुनकोशी नदीको पानी १३.१ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२, कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । आयोजनाबाट २८.६२ मेगावाट विद्युत् उत्पादन गरिनेछ । उत्पादित विद्युत् राष्ट्रिय ग्रिडअन्तर्गत ढल्केबर सब–स्टेसनमा जोडिने आयोजनाले जनाएको छ ।

बहुद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका जिल्ला बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाहीमा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु-याउने छ । सुनकोसी–मरिण डाइभर्सन आयोजना निर्माण गर्न चालू आर्थिक वर्ष २०७७-७८ मा सरकारले दुई अर्ब ४६ करोड रुपियाँ विनियोजन गरेको छ ।

सरकारले गत आर्थिक वर्षमा सो आयोजनाका लागि दुई अर्ब पाँच करोड रुपियाँ बजेट विनियोजन गरिएको थियो । आयोजना निर्माण गर्न कुल ४६ अर्ब १९ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । यस्तै बाँकी संरचना निर्माण गर्न झन्डै ३० अर्ब रुपियाँ लाग्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया